PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या



सविन ढकाल

क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा एक युवकले पाँच जनाको हत्या गरेका छन्।

मैनहवा गाउँमा रहेको गंगादेवी पशुपालन गाई फार्ममा एक महिलासहित पाँचजनाको हत्या भएको हो। हत्या रातिको समयमा भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। मंगलवार बिहान फार्म संचालकले गोठमा हेर्न जाँदा हत्या भएको अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हत्या हुनेमा १४ वर्षीय किशोर देखि ५० वर्षसम्मका छन्। श्रीमान्, श्रीमतीको पनि हत्या भएको छ।

'जानकी मुसहर र मुसे मुसहर भनिने पति पत्नी हुन्। उनीहरुको पनि हत्या भएको छ,' तिलोत्तमा नगरपालिका वडा नम्वर १० का वडा सदस्य उमानन्द घिमिरेले भने। उनी घटनास्थलमै छन्।

उनीहरु एउटै गाई फर्ममा काम गर्दै आएको प्रारम्भीक अनुसन्धान खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिए। फार्ममा पाँच जना काम गर्दै आएका थिए। एक युवक भने राति सुत्नका लागि फार्ममा जाने गरेको वडा सदस्य घिमिरेले जानकारी दिए।

प्रहरीले हत्या गरेको अभियोगमा एक युवकलाई नियन्त्रमा लिएको छ। 'हत्या गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं। थप अनुसन्धान भइरहेको छ,' एसपी थापाले पहिलोपोस्टसँग भने।

युवकले कोदालोले प्रहार गरेर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रारम्भीक अनुसन्धान अनुसार युवकले नशालु पदार्थ खाएर हत्या गरेको देखिएको एसपी थापाले बताए। 'कोदालोमा रगत लागेको छ। नशालु पदार्थ खाएर घटना भएको हो कि भन्ने हो,' वडा सदस्य घिमिरेले भने।

मृत्यु हुनेमा आशिष चौधरी, करण चौधरी, दोखरा सुनियार पनि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell