
काठमाडौं : काठमाडौँ उपत्यकाभित्र धमाधम सरकारको लकडाउनको उल्लङ्घन गर्दै पसलहरू खुल्न थालेपछि प्रहरी फेरि सक्रिय बनेको छ। केही दिनदेखि काठमाडौँ उपत्यकाभित्र पसलहरू सञ्चालनमा आएका थिए। सरकारले लकडाउनको विकल्प खोज्न ढिला गरेकाले व्यवसाय चौपटमा परेको भन्दै व्यापारी आन्दोलनमा समेत उत्रिएका थिए।
काठमाडौँको जोरपाटी, अशन, इन्द्रचोक, चाबहिल, कीर्तिपुर, न्युरोड लगायत ठाउँमा खाद्यान्नदेखि फेन्सीसम्मका पसलहरू खुल्न थालेका थिए। केही समय केही नगरेको प्रहरी अहिले माथिबाट बन्द गराउने निर्देशन पाएपछि धमाधम बन्द गराउन थालेको छ। मानिसको भिड बढ्दै गएपछि प्रहरी पुनः पसल बन्द गराउँदै हिँडेको हो।
'सरकारको खोल्न निर्देशन अहिलेसम्म आएको छैन। अत्यावश्यक बाहेकको पसल बन्द गराएको हो,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशील कुमार यादवले भने।
सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने भनेको पनि एक महिना बितिसकेको छ। तर, सरकारको गृहकार्यमा कमी हुँदा नयाँ मोडालिटीबारे निष्कर्षमा पुग्न सकेको छैन। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार पारेपछि मन्त्रिपरिषद् बैठकमा पेश गर्छ। त्यसपछि सरकारले नयाँ मोडालिटी ल्याउने हो। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको बैठकले मोडालिटीमा थप गृहकार्य गर्न निर्देशन दिएको थियो।