PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मिडिया ब्रिफिङको अनुभूति : थाहा छैन कहिले मिल्छ यसबाट विश्राम



पहिलोपोस्ट

मिडिया ब्रिफिङको अनुभूति : थाहा छैन कहिले मिल्छ यसबाट विश्राम

  • निमेष कर्ण -

हाम्रो पुस्ताले कहिल्यै अनुभूत गर्न नपाएको महामारीले विभिन्न देशहरुलाई पिरोलेको समाचार सार्वजनिक भइरहेका थिए। छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको कोभिड १९ समुन्द्र तरेर युरोप र अमेरिकातर्फ विचरण गर्दै थियो। संसारमा हरेक हिसाबले शक्ति सम्पन्न देशहरुलाई पिरलेको कोभिडले हामीलाई पनि सताउँछ भन्ने आशंका र चासो तीब्र थियो। स्वास्थ्य सुविधाका दृष्टिले कमजोर हाम्रो मुलुकमा कोरोना छिरिहाल्यो भने ठूलै संकट निम्तने सक्ने अनुमान हुनु स्वभाविक थियो। कोरोनाको डर मनभरी बोकेर काठमाडौंबाट सर्लाहीको मलंगवा हिँडे। डरसँगै पापी पेट पनि सवाल जो थियो। डराएरमात्र संसार चल्ने भए भर्खर बोली फुटेको छोरोसँगै वात मारेर काठमाडौंमै दिन बिताइदिन्थे।

२०७६ साल चैत १० गते एउटा फोटो उल्कै भाइरल भएको रहेछ। मलगंवाको कछुवा गतिको इन्टरनेट मार्फत् बल्लतल्ल फेसबुक खुलेपछि भाइरल फोटोबारे थाहा भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कोभिड १९ को विषयमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन गरिरहेका थिए। उनका वाणीलाई आधार बनाएर समाचार बनाउन हतारिएका पत्रकारहरु ठेलमठेल गरेर उपस्थित थिए। त्यही स्वास्थ्य मन्त्रालय थियो जसले सामाजिक दुरी, साबुन पानी, मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने जोडजोडले प्रचार गरिरहेको थियो। तर, त्यही मन्त्रालयमा पत्रकारहरु सामाजिक दुरीलाई खिल्ली उडाउँदै आफ्नो कर्म गर्न अभीप्सित थिए।

पच्चिस जनाभन्दा बढी भेला गर्न नपाइने आदेश जारी गरेको सरकारले नै पत्रकारलाई खचाखच उपस्थित गराएर पत्रकार सम्मलेन गरेको ‘मजाक’लाई लिएर सामाजिक सञ्जालका प्रयोकर्ताहरु खिसीट्यूरी गरिरहेका थिए।

आफ्नो कर्म पनि सञ्चार क्षेत्र नै। त्यसमाथि पछिल्लो समय भिडियो उत्पादन र निर्माणमा फोकस थिएँ। मनमा स्वास्थ्य मन्त्रालयले गर्ने पत्रकार सम्मलेनलाई व्यवस्थित बनाउन सके आफू जस्तै सञ्चारकर्मीहरुले राहत पाउने थिए भन्ने सोच पलायो। सरकारले एकीकृत ढंगबाट सूचना उपलब्ध गराए सञ्चारकर्मीको जोखिम अलि कम हुन्थ्यो भन्ने लाग्यो।

यो सोच संचार उद्यमी अर्जुन विष्टसँग फोन मार्फत् साझा गरेँ। मैले ‘स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनलाई भिडियो लाइभ गर्नका लागि पहल गर्ने कि?’ भनेर अर्जुनलाई बताएँ। सायद् यो आवश्यकतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि महसुस गरिसकेको थियो। जसका कारण अर्जुनको प्राविधिक सहकार्य मार्फत् स्वास्थ्य मन्त्रालयले चैत १२ गतेबाट हरेक दिन दिउँसो मिडिया ब्रिफिङ सञ्चालन गर्न थाल्यो।

चैत ११ गते नेपाल सरकारले लकडाउन घोषण गरेपछि मलंगहवामा गर्ने भनेको काम पनि नहुने भयो। अनि ११ गते नै वरिष्ठ पत्रकार किशोर नेपाल र म सिन्धुलीको बीपी राजमार्ग हुँदै काठमाडौं हुइँकियौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चालित मिडिया बिफ्रिङले सूचना सम्प्रेसणलाई व्यवस्थित बनाएको महसुस भइरहेको थियो। सोहीअनुरुप मिडिया बिफ्रिङ प्रदेश नम्बर २ मा पनि सञ्चालन गर्न सके सूचना प्रवाह सँगसँगै कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदममा सहयोग पुग्छ भन्ने सोच पलायो। यही साथी ईश्वर दाहाललाई बताएँ। उसलाई बताउनुको मुख्य कारण के थियो भने मिडिया बिफ्रिङ आफू एक्लैले सञ्चालन गर्न सकिन्नथ्यो। टिम चाहिन्थ्यो। यदि टिमले जोश देखायो भनेमात्रै प्रदेश दुई सरकारमा आफ्नो अवधारणा बताउने गर्ने सोच बनाएको थिएँ। २०७२ को भूकम्पपछि प्रकोप सम्वन्धि रिपोर्टिङमा खास रुची देखाएको ईश्वरले महामारीसम्वद्ध सञ्चारकार्य गर्न पाए ‘राम्रै अनुभव हासिल हुने’ बताएपछि मैले प्रदेश दुई सरकारका प्रमुख महान्यायाधीवक्ता दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णहरि पुस्करलाई सम्पर्क गरेँ। उनीहरुको साथ मिल्यो। र, सरोकारवाला मन्त्रालय अर्थात् सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रामप्रसाद घिमिरेलाई सम्पर्क गर्न सुझाव पाएँ। केही दिन अगाडिमात्रै सरुवा भएर प्रदेश २ मा पुगेका रामप्रसाद घिमिरेले पनि मेरो अवधारणामा काम गर्न सकिने बताएपछि प्राविधिक साथी रजिन महर्जन, ईश्वर र म गाडीभरी कम्प्युटर, क्यामरा लगायतका प्राविधिक सामाग्रीहरु बोकेर चैत २१ गते बिहान ३ बजे जनकपुरका लागि हिँड्यौं। मुख्यमन्त्री, मन्त्री लगायत अन्य सरोकारवालाहरुसँग छलफल गरेपछि २१ गते दिउँसो ४ बजेबाट नै मिडिया बिफ्रिङ सञ्चालन गर्ने तय भयो। जेठ २६ गतेसम्म प्रदेश नम्बर २ को मिडिया बिफ्रिङले ६७ दिन पार गरिसकेको छ। यस ६७ दिनमा नेपाल टेलिभिजनको इटहरी च्यानल, रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबास र सामुदायिक रेडियो प्रसारण संघद्वारा सञ्चालित सामुदायिक सुचना नेटवर्क सीआईएन मार्फत् प्रतक्ष्य प्रसारण भइरहेको छ।

हामीले मिडिया बिफ्रिङ सञ्चालन गर्दा प्रदेश नम्बर २ मा एक जना ब्यक्ति पनि कोरोना भाइरसबाट संक्रमित भएका थिएनन्। प्रदेशमा रियल टाइम पीसीआर ल्याबहरु सञ्चालित थिएनन्। अहिलेसम्म प्रदेशमा १३ सय २३ जना ब्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन् भने वीरगंज, जनकपुर र राजविराजमा रियल टाइम पीसीआर मेसिन जडान गरेर स्वाब परीक्षण भइरहेको छ।

हामीले सबैभन्दा पहिलो पटक चैत्र ३० गते पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नम्बर २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको स्वाब परीक्षण गर्दा ३७, ४४ र ५५ वर्षका भारतीय नागरिकहरुलाई कोरोना संक्रमण पुष्टि भएको सुचना सार्वजनिक गरेका थियौं। प्रदेश नम्बर २ मा पहिलोपटक कोरोना संक्रमण वीरगंजमा देखिँदा जनकपुरमा समेत हाम्रो मन डराएको थियो। तर, यसबीच वाग्मती, कमला र कोसीमा धेरै पानी बग्यो। वीरगंजमा कोरोना संक्रमित भेटिए भनेर आत्तिने मनले आज अलिकति पल्तिर जनकपुरकै संक्रमणको खबर आउँदा पनि सामान्य ठान्न थालेको छ। जनकपुर झरेपछिका करिब तीन साताजति काठमाडौंबाट आफन्त र मित्रजनहरुले दैनिक फोन गरेर छिटो काठमाडौं आउन आग्रह गरिरहन्थे। उनीहरुको दृष्टिमा काठमाडौंभन्दा जनकपुरमा भयावह अवस्था थियो। त्यस्तो संकटपूर्ण कार्यस्थल छिटोभन्दा छिटो छोड्नु भन्ने आग्रहले कहिले काँही त हैरान बनाउँथ्यो। तर, अचेल नेपाली समाज कोरोनासँग अभ्यस्त बन्दै गएकाले हो वा अन्य कारणले हो, काठमाडौं फर्कने आग्रह र आदेशपूर्ण फोनहरु पातलिँदै गएका छन्। बरु समाचारका लागि काठमाडौंका सञ्चारकर्मी साथीहरुको फोन बाक्लिन थालेको छ।

मिडिया ब्रिफिङ सुरुगर्दा क्वारेन्टाइन निर्माण र सहयोग संकलनका सूचना सम्प्रेसण गर्ने हामीहरु कतिपय दिनमा त डेढसय भन्दा बढी ब्यक्तिहरु संक्रमित भएको खबर सार्वजनिक गर्न थालेका छौं।

सात प्रदेशहरुमध्ये सबैभन्दा धेरै संक्रमितहरु भएको प्रदेश बनेका कारण सरोकारवालाको ध्यान प्रदेश नम्बर २ मा विशेष छ भन्ने तथ्यबाट हामी जानकार छौं। जसका कारण मिडिया ब्रिफिङलाई सकेसम्म तथ्यपरक बनाउन भरमग्दुर कोसिस गरिरहन्छौं। मिडिया ब्रिफिङको पछिल्लो सदस्य बनेका वरिष्ठ क्यामरा पर्सन रमेश धमला लगायत ५ जनाको टिम बिहान १० बजेबाट राति ७ बजेसम्मै जुट्छ। तैपनि कतिपय कारणले कुनैकुनै तथ्याकंमा कहिलेकाहीँ त्रुटि हुने गरेको छ।

सञ्चारकर्मी सधैँ जिम्मेवार हुनुपर्छ भन्ने मान्यता छ। तर, यो ६७ दिनको कर्मले के सिकायो भने महामारी सम्वद्ध सूचना र समाचार सम्प्रेसण गर्दा पत्रकार झनै जिम्मेवार बन्नुपर्ने रहेछ। राज्यको श्रोत साधन, जनशक्ति र अवस्थालाई ध्यान दिएर खबरहरु सम्प्रेसण गर्न सकिएन, मिडियाका समाचार पनि समुदायमा आतंकका पर्याय बन्ने रहेछन्।

यो मिडिया ब्रिफिङ कति दिन चल्छ थाहा छैन। किनकि हिजो २०७७ साल जेठ २६ गतेमात्रै प्रदेश नम्बर २ का ७ वटा जिल्लामा १ सय ७४ जना संक्रमित भएको तथ्यांक मिडिया ब्रिफिङ मार्फत् सार्वजनिक गरेका छौं। संसारलाई नै मेसो नभएको कोरोना नेपालबाट कहिले बिदा हुन्छ हामीलाई थाहा छैन। अनि कोरोना कहरकै जगमा उभिएको मिडिया ब्रिफिङ पनि कोरोनाको उठान र बैठानले नै निर्धारण गर्नेछ।

त्यसैले समयावधीको निर्क्यौलबिहीन मिडिया ब्रिफिङकर्म जारी छ। बिहान घाम झुल्केपछि बर्दिबासबाट गाडीको स्टेरिङ्ग घुमाउँदै जनकपुर र तारा उदाएपछि जनकपुरबाट बर्दिबाससम्मको दैनिक यात्राले कहिले बिश्राम लिन्छ, पत्तो छैन। तर यति चाहिँ पक्का हो, कोरोनाले बिश्राम लिए सिंगो मानव सभ्याताले पनि राहतको सास फेर्न पाउने छ।

(लेखक सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell