PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सन् २०२१ मा नभए ओलम्पिक रद्द हुने, टोकियोकी गभर्नर भन्छिन् : हामीले यहाँका मानिसको सोचलाई पनि बुझ्नुपर्ने हुन्छ



पहिलोपोस्ट

सन् २०२१ मा नभए ओलम्पिक रद्द हुने, टोकियोकी गभर्नर भन्छिन् : हामीले यहाँका मानिसको सोचलाई पनि बुझ्नुपर्ने हुन्छ

संसारभर कोरोना भाइरसको कहर चलिरहेको छ। मानिसहरु सामान्य जीवनशैलीमा फर्कन प्रयास गरिरहेका छन्। तर, अर्कोतर्फ अमेरिका र दक्षिण एसियामा भाइरसले आफ्नो रफ्तार बढाइ रहेको छ।

यो महामारीका कारण प्रभावित खेलकूदमध्येको सबैभन्दा ठूलो 'इभेन्ट' हो ओलम्पिक। सन् २०२० मै टोकियोमा हुने भनिएको ओलम्पिक कोभिड १९ का कारण स्थगित हुन पुग्यो। र, आगामी वर्ष आयोजना गर्ने तयारी रहेको छ। तर, अर्को वर्ष पनि ओलम्पिक होला या नहोला भन्ने तय महामारीको अवस्थाले निर्धारण गर्नेछ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका एक उच्च अधिकारीले सन् २०२१ मा ओलम्पिक आयोजना गर्न नसके ओलम्पिक रद्द गरिने बताएका छन्। ओलम्पिक सन् २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना गराउने तयारी छ।

आइओसीको समन्वय समितिका अध्यक्ष पिएरे ओलिवर बेकर्स वियुजांट अबको निर्धारित मितिमा ओलम्पिक हुने विश्वास ब्यक्त गर्दै यो स्तरको प्रतियोगितालाई एकपटक भन्दा धेरै स्थगित गर्न नसकिने स्पस्ट पारेका छन्।

'सन् २०२१ मा ओलम्पिक हुनेमा हामी सबै विश्वस्त छौं। यदि २०२१ मा यो खेल हुन सकेन भने फेरि अर्को मितिमा सर्ने छैन,' उनले भनेका छन्, 'यस्तो प्रोजेक्टलाई बारम्बार स्थगित गरिरहन सम्भव हुँदैन। यसमा हजारौं जनशक्ति र ठूलो रकम खर्च भएको हुन्छ।'

यता टोकियोकी गभर्नर युरिको कोइकीले सिएनएनसँगको एक कुराकानीमा ओलम्पिक सबैका लागि महत्वपूर्ण भएको भन्दै यसको स्थगनले ठूलो असर परेको बताएकी छिन्।

उनले ओलम्पिकलाई महामारीमाथिको जितका रुपमा आयोजना गराउने तयारी रहे पनि अझै धेरै कुरा अनिश्चित रहेको बताइन्।

'टोकियो ओलम्पिक २०२० महत्वपूर्ण इभेन्ट थियो जसलाई सबैले प्रतीक्षा गरेका थिए,' उनले भनेकी छिन्, 'यसको स्थगनले ठूलो मूल्य चुकाउनु परेको छ। हामीलाई थाहा छैन अर्को वर्षको जुलाईमा कोरोना महामारीको अवस्था के हुनेछ। अहिले धेरैकुरा अनिश्चित छ।'

उनले सुरुबाटै लगानी धेरै परिरहेको अवस्थामा थप धेरै लगानी गर्न कठिन हुने बताइन्।

'हामी सुरुमै ठूलो लगानी गरिसकेका छौं। अब हामीलाई टोकियोका मानिसहरुको सोचाइलाई पनि बुझ्नु पर्ने हुन्छ,' उनले भनिन्, 'हामीले यसैमा अत्याधिक खर्च गर्नु हुँदैन। हामीले दर्शक र खेलाडीको सुरक्षा पनि हेर्नुपर्ने हुन्छ।'

उनको संकेत कोरोना भाइरसको 'सेकेन्ड वेभ'लाई लिएर छ। अहिले कोरोनाको प्रभाव कम गर्दै लगेको जापानलाई कम टेस्ट गरेको आरोप समेत लगाउने गरेका छन्।

ओलम्पिक आयोजकले डिसेम्बरमा १२.३५ बिलियन डलर ओलम्पिक आयोजनाका लागि खर्च भएको बताएको थियो। जसमा ठूलो परिमाणमा बीमा, स्पोन्सर, ब्रोडकास्ट लगायतबाट लगानी भएको थियो।

आइओसीका अध्यक्ष बकले पनि सन् २०२१ मा ओलम्पिक नभए अर्को विकल्पबारे नसोचेको बताउँदै आएका छन्।

जापानमा पछिल्लो तथ्यांक अनुसार १७ हजार १७४ जना कोरोना संक्रमित छन् जसमा ९ सय १६ जनाको मृत्यु भइसकेको छ भने १५ हजार १४८ जना ठीक भइसकेका छन्। त्यहाँ एक्टिभ केस ११ सय १० जनामा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell