PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक संसदमा प्रस्तुत हुँदै



पहिलोपोस्ट

नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक संसदमा प्रस्तुत हुँदै

काठमाडौं : संविधान संशोधनको प्रक्रिया आजबाट अघि बढ्दैछ। अद्यावधिक नक्साभित्रको निशान छाप मिलानका लागि प्रतिनिधि सभामा पेश भएको 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आज प्रस्तुत हुँदैछ।

संघीय संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुनमन्त्री डा शिवमाया तुम्बाहाम्फेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी लगायतका भूमि समेटेर नक्सा जारी गरेपछि अद्यावधिक नक्सा मिलानको लागि संविधान संशोधन गर्न लागिएको हो।

अध्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्सा मिलाउन विधेयक तयार पारिएको हो। जसलाई संसदले बहुमतले पारित गर्नुपर्छ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन्। विधेयक सर्वसाधारणका लागि राजपत्रमा प्रकाशित भइसकेको ‍छ।

यस्तो छ प्रक्रिया ?

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बैठकमा विधेयकमाथि सामान्य छलफल हुनेछ। सामान्य छलफलपछि सांसदहरुलाई विधेयकमाथि संशोधन प्रस्ताव दर्ता ७२ घण्टाको समय दिएर खुला गरिन्छ। त्यसपछि सबै संशोधनलाई एकीकृत गरेर सभामुखबाट प्रमाणित गराएर सदनमा छलफलका लागि पेश गर्नुपर्ने हुन्छ।

संविधान संशोधन विधेयक संसदको दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ । पारित हुँदा हस्ताक्षरसहित मत विभाजन प्रक्रायाबाट हुनेछ। प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रियसभामा जान्छ। राष्ट्रिय सभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पास गर्ने प्रक्रिया प्रतिनिधिसभामा जस्तै हुन्छ।

राष्ट्रिय सभाले पनि दुई तिहाई मतले पारित गर्नुपर्छ। प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभामा पनि प्रतिनिधि सभाकै जसरी प्रक्रिया अघि बढ्छ।

दुबै सदनबाट पारित भएपछि पारित भएपछि प्रतिनिधि सभाका सभामुखले प्रमाणित गर्नेछन्। प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश हुनेछ। यसरी गएको संविधान संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ। राष्ट्रपतिबाट प्रमाणित भएपछि संविधान संशोधन हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell