PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी र गर्भवती महिलामा संक्रमण



एम बम

सुदूरपश्चिममा स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी र गर्भवती महिलामा संक्रमण

कैलाली: सुदूरपश्चिम प्रदेशमा सोमबार थपिएका ३७ जना कोरोना सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक गर्भवती महिला रहेको खुलेको छ। सोमबार सुदूरपश्चिममा ३७ सङ्क्रमित थपिएका थिए।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको थियो।

त्यसमध्ये एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा सोमबार थप एक जनामा संक्रमण देखिएको हो।

जिल्लाको पुनर्वास नगरपालिकास्थित त्रिभुवन बस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। उनी कोरोना शंकास्पद बिरामीको स्वाब सङ्कलनमा खटिएका थिए।

स्वास्थ्यकर्मीलाई नै कोरोना पुष्टि भएपछि पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवन बस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकीले सम्पूर्ण सेवा बन्द गरेको हो।

स्वास्थ्य चौकीले मङ्गलवार एक सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदासम्म स्वास्थ्य चौकीका सेवा बन्द गरिएको जानकाट्ठ दिएको छ।

सेवाग्राहीमा समेत सङ्क्रमण फैलिन नदिन अनिश्चितकालका लागि सेवा बन्द गरिएको त्रिभुवन बस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले बताए। कञ्चनपुरको पुनर्वासमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ।

यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याब असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनमा भने नाकामा आरडीटी परीक्षणका क्रममा कोरोना संक्रमण भएको हो।

उता अछामकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौर पाटी गाउँपालिका ५ कि गर्भवतीमा कोरोना पुष्टि भएको हो।

भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाइएको थियो। उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ। अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले उनमा कोरोना पुष्टि भएको जानकारी दिए। गाउँपालिकाका सबै वडाहरू सिल रहेको उनले बताए।

उनले अहिलेसम्म गाउँपालिकामा भारतबाट १ हजार २ सय जना आएर क्वारेन्टाइनमा रहेको जानकारी दिए। सङ्क्रमण पुष्टि भएकी महिला बसेको क्वारेन्टाइनमा भने १२ जना बस्दै आएको उनले बताए।

कोहलपुर मेडिकल कलेजले ती महिलाको आपतकालिन शल्यक्रिया गर्ने तयारी गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell