
सन् २०२३ को विश्वकप आयोजनाको होडबाट ब्राजिल पछि हटेको छ। कोरोनाको महामारी चलिरहँदा सरकारले आर्थिक रुपमा सुनिश्चितता नदेखाएको भन्दै ब्राजिल फुटबल कन्फिडरेस (सिबिएफ) ले महिला विश्वकप आयोजना गर्न नसक्ने जनाएको हो।
'कोभिड १९ले निम्ताएको वित्तिय र आर्थिक कठिनाइहरुका कारण सरकारले अहिले फिफाको ग्यारेन्टीमा हस्ताक्षर नगर्ने सोचेको छ।' सिबिएफले आफ्नो विज्ञप्तिमा भनेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गर्दै आएको ब्राजिल अमेरिका पछि दोस्रो ठूलो संख्यामा अहिले कोरोना महामारीसँग जुधिरहेको छ। पछिल्लो समय ब्राजिलले सन् २०१४ को विश्वकप फुटबल, ओलम्पिक २०१६ र २०१९ मा कोपा अमेरिका आयोजना गरिसकेको छ।
ब्राजिलले महिला विश्वकप २०२३ आयोजनाको होडबाट हात झिकेसँगै कोलम्बिया, जापान र संयुक्त रुपमा अस्ट्रेलिया र न्युजिल्यान्ड विश्वकप २०२३ को आयोजक बन्ने होडमा रहने छन्।
ब्राजिलमा अहिले ७ लाख भन्दामाथि कोरोना संक्रमित छन् भने ३७ हजार बढीको मृत्यु भइसकेको छ।