PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

लत्तो छाड्दै निजी अस्पताल : संक्रमण पुष्टि नहुँदासम्म उपचार, पुष्टि भएपछि हतारमा रिफर



विधुर ढकाल

लत्तो छाड्दै निजी अस्पताल : संक्रमण पुष्टि नहुँदासम्म उपचार, पुष्टि भएपछि हतारमा रिफर

काठमाडौं : मंगलवार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ औं मृत्युले नेपालको स्वास्थ्य क्षेत्रमा निजी लगानीमा चलेका अस्पताल कुन हदसम्म तल झर्न सक्छन् भन्ने छर्लङ्ग पारेको छ। साथै, कोरोनाका विषयमा सरकारको नीति कति अव्यवहारिक छ भन्ने पनि खुलेको छ। चितवनको भरतपुर अस्पतालमा ६८ वर्षका निमोनिया रोगका विरामीको कोरोना संक्रमणपछि मृत्यु भएको भयो।

उनको निमोनियाको उपचार भरतपुरकै नारायणी सामुदायिक अस्पतालको आइसीयुमा उपचार भइरहेको थियो। भेन्टिलेटरमा रहेका उनीहरुमा संक्रमण पुष्टि भएसँगै जबर्जस्ती निजी अस्पतालले सरकारी रेफर गर्‍यो। सरकारी अस्पतालमा लगेपछि उनको मृत्यु भयो।

निजी अस्पतालमा देखिएका संक्रमितको उपचारका लागि हतारहतार सरकारी अस्पतालमा रिफर गर्दा संक्रमितमा जोखिम बढ्दै गएको छ।

सोमवार भरतपुरका तीन वटा अस्पतालमा उपचाररत चार जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका सबैलाई अहिले भरतपुर अस्पतालमा रिफर गरिएको छ।

'सबै संक्रमित भरतपुर अस्पतालमा ल्याएका छौं,' भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर श्रीराम तिवारीले भने, 'अबस्था त्यस्तो जटिल नभएका कारण उहाँहरुलाई नर्मल क्वाविन सहितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।'

अहिलेसम्म संक्रमितको उपचार सरकारी अस्पतालमा गर्नुपर्ने भन्ने निर्देशिका हुँदा संक्रमितलाई सरकारी अस्पतालमा ल्याउनुपरेको उनको भनाई छ। सम्भव भएसम्म निजीमै उपचार गर्दा पनि हुनुपर्ने डाक्टर तिवारी बताउँछन्।

कोरोना संक्रमण पछि अस्पतालमा मृत्यु भएको यो तेस्रो घटना हो। यसअघि रुपन्देहीको मणिग्रामस्थित क्रिमिसन अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो।

संक्रमण पुष्टि भएपछि क्रिमिसन अस्पतालले पनि संक्रमितलाई सरकारी अस्पतालमा रिफर गर्ने प्रयास गरेको थियो। तर, भेन्टिलेटरमा रहेका संक्रमितलाई सरकारी अस्पतालसम्म पुर्‍याउनका लागि भेन्टिलेटर सहितको सुविधा नभएका कारण क्रिमसनमै राखिएको थियो। उनको अस्पतालमै मृत्यु भएको थियो।

त्यस्तै, काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि उपचार भइरहेका दोलखाका एक व्यक्तिमा संक्रमणको पुष्टि भएपछि काठमाडौं मेडिकल कलेजबाट त्रिवि शिक्षण अस्पतालमा रिफर गरियो। उनको मृत्यु त्रिवि शिक्षण अस्पतालमा भयो।

संक्रमितको उपचारबाट निजी अस्पताल पन्छिन खोजेको कोरोना भाइरसका संक्रमितको उपचरामा संलग्न एक चिकित्सकले बताए। 'नाम त नलेख्नु होला उपचार भइरहेका विरामीलाई हतारमा सरकारी अस्पतालमा रेफर गर्दा जोखिम बढेको छ,' उनले भने, 'संक्रमण पुष्टि नहुँदासम्म निजी अस्पतालमा उपचार सम्भव हुने, त्यहीँका चिकित्सकहरुले उपचार गर्न हुने। संक्रमण पुष्टि हुनासाथ उपचार सम्भव हुँदा हुँदै पनि सरकारीमा रिफर गर्ने? निजी अस्पतालले जोखिम मोल्न नखोजेको मात्र हो। नत्र निजी अस्पताल पनि सुविधा सम्पन्न छन्। आइसीयु भेन्टिलेटरको सुविधा पनि छ। किन उपचार हुँदैन त?'

सरकारले तयार गरेको गाइडलाइनमा पनि त्रुटि रहेको उनको भनाई छ। 'सरकारले निजी अस्पताललाई पनि जिम्मेवारीबोध गराउन सक्नुपर्छ। निजी अस्पतालहरुलाई पनि उपचारमा प्रयोग गर्नुपर्छ,' उनले भने।

पछिल्लो समय निजी अस्पतालहरुमा नर्मल ओपीडीसमेत बन्द छ। संक्रमणको जोखिम भन्दै अस्पतालमा विरामीको चाप कम छ। विरामीहरु उपचार नपाई मर्नुपर्ने अवस्था आएको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक जारी गरेको निर्देशिकामा हरेक अस्पताललाई उपलव्ध स्रोत साधनको प्रयोग गरी आइसोलेसन सञ्चान गर्न भनेको छ।

अस्पतालमा उपचाररत विरामीमा संक्रमण पुष्टि भएमा अस्पतालले संक्रमितमा देखिएको लक्षणका आधारमा अस्पतालले आइसोलेसन सम्बन्धि निर्णय लिन सक्ने निर्देशिकामा उल्लेख छ।

'घरमै आइसोलेसन बस्न सक्ने सम्भव छ भने अलाक्षणिक र हल्का लक्षण भएका केसहरुलाई आवश्यक प्रक्रिया पूरा गरी घरमा पठाउने। यदि सो सम्भव नभएमा सोही अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार गर्ने,' निर्देशिकामा भनिएको छ। तर, पनि निजी अस्पतालहरु संक्रमितको उपचारबाट पन्छिन खोजिरहेका छन्।

मध्यम लक्षण भएका केसहरुलाई अस्पतालले उपचारका लागि लेभल १ अस्पतालमा पठाउनुपर्ने छ। त्यस्तै, गम्भीर र संवेदनशील केसहरुलाई लेभल २ अस्पतालमा उपचारका लागि पठाउनुपर्ने छ।

त्यस्तै, संक्रमितलाई बहु-विशेषज्ञ सेवा आवश्यक भए लेभल ३ अस्पतालमा पठाउनुपर्ने छ। मन्त्रालयले कोभिड-१९ सम्बन्धि उपचारका लागि १६ वटा लेभल १ अस्पताल, १२ वटा लेभल २ अस्पताल र ३ वटा लेभल ३ अस्पताल छुट्याएको छ। त्यस्तै १ सय २६ वटा अस्पताललाई कोभिड क्लिनिकको रुपमा छुट्याएको छ।

निर्देशिकामा सामान्य कोभिड-१९ का संक्रमितलाई मात्र राख्न मिल्छ। 'मध्यम लक्षण देखिनासाथ सरकारी अस्पतालमा पठाउनुपर्छ भन्ने निर्देशिका छ। यसमा त्रुटि छ। सम्भव भएसम्म निजीमा पनि उपचार गराउनुपर्छ,' ती चिकित्सकले भने।

'भीआइपी'लाई भने निर्देशिकाले छुँदैन

पोखराका एक जना 'भीआईपी' संक्रमितको उपचार काठमाडौं स्थित ह्याम्स अस्पतालमा भइरहेको छ। पोखराबाट हेलिकोप्टरमै काठमाडौं ल्याइएका उनलाई उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। निर्देशिका अनुसार बहु विशेषज्ञ सेवा आवश्यक भएका संक्रमितलाई लेभल ३ अस्पतालमा रेफर गर्नुपर्छ। तर, उनी अझै ह्याम्स अस्पतालमा नै उपचाररत छन्।

संक्रमित सिकिस्त विरामी भए, श्वास फेर्न गाह्रो भयो १०५ डिग्री ज्वोरो आएपछि हतारहतार गरी काठमाडौं हेलिकोप्टरमा ल्याइएको थियो। विरामीको अवस्था स्थिर छ। उनलाई देखिएको लक्षण अनुसार उनलाई लेभल ३ अस्पतालमा रेफर गरिसक्नुपर्थ्यो। जस्तो कि केएमसीले शल्याक्रिया गरिसकेका विरामीलाई आइसीयुबाटै टिचिङ रिफर गरेको थियो। तर, पहुँचका आधारमा उनलाई ह्याम्स अस्पतालमै राखेर उपचार भइरहेको छ।

'पहुँच हुनेले निर्देशिका लत्याउँदा पनि हुने, पहुँच नहुनेलाई निर्देशिकाकै कारण जोखिम मोलेर रिफर गर्ने मृत्युको मुखमा पर्‍याउने?,' ती चिकित्सकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell