PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अमेरिकाको 'ब्ल्याक लाइभ्स म्याटर' शैलीमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, शान्त आन्दोलनकारी, अराजक प्रहरी

अमेरिकाको 'ब्ल्याक लाइभ्स म्याटर' शैलीमा सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, शान्त आन्दोलनकारी, अराजक प्रहरी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यही साता फेसबुकमा एउटा ग्रुप सक्रिय भयो - 'कोभिड १९ नेपाल, इनफ इज इनफ'। यस ग्रुपमा युवाहरु कोरोनाको महामारीबीच सरकारले गरेको कामलाई लिएर छलफलमा जुटे। उनीहरुले सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको निस्कर्ष निकाले।

लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेपछि सरकारलाई दवाव दिने योजना बन्यो। त्यही अनुरुप आज बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै युवाहरु जम्मा भए।

'सरकार खै?', 'दश अर्बको हिसाब खै?', 'कर के का लागि?', 'सरकारको सरोकार कार्पेट कि पीसीआर?', 'करेक्ट द क्वारेन्टिन पोलिसी', 'अ मिनिङलेस लकडाउन इज नट एन्सर' लगायतका प्लेकार्ड लिएर सामाजिक दुरी कायम राख्दै विरोधमा उत्रिए उनीहरु।

जसरी 'अकुपाई वाल स्ट्रिटलाई' अनुसरण गर्दै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अकुपाई बालुवाटार आयोजना भएको थियो, त्यस्तैगरी अमेरिकामा जर्ज फ्लोइडको हत्या पछि भएको 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलनको शैलीमा युवाहरु उत्रिएका थिए। सयौंको संख्यामा युवाहरु स्वस्फुर्त उत्रिएका थिए। उनीहरुलाई प्रेरित गर्नेमा पूर्व मिस नेपालदेखि नेपाली सिनेमाका अभिनेत्री, अभिनेतासमेत थिए। उनीहरुले संयमित आन्दोलनका लागि बालुवाटार जान आह्वान गर्दै पोस्ट सेयर गरेका थिए।

आज बिहान उनीहरुले १० बजेदेखि १२ बजेसम्म धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए। साढे एक घन्टासम्म धर्ना हेर्न लायक देखिएको थियो। आन्दोलनमा कसैलाई गाडीका गाडी ओसारेर शक्ति प्रदर्शनको शैली थिएन। प्रदर्शनकारीहरु दुरी कायम गरेर बसेका थिए। आएका सेलिब्रिटी पनि मास्कमा थिए, तिनलाई चिन्न सकिन्नथ्यो। शान्त थियो आन्दोलन। तर, डेढ घन्टापछि प्रहरीको दंगा नियन्त्रणको टोली आइपुग्यो। धर्ना सकिन आधा घन्टामात्र बाँकी रहँदा प्रहरीले माइकिङ गर्न थाल्यो : तपाईँहरु २५ जना भन्दा धेरै हुनुहुन्छ। यो लकडाउनको उल्लंघन भयो। तपाईँहरु हट्दिनुस्। यहाँबाट गइदिनुस्।

प्रहरीले माइकिङ गर्न थालेपछि धर्नामा उत्रिएका युवाहरुले पनि नारा घन्काउन थाले : 'पुलिस हाम्रो मामा हो, भान्जालाई हान्न हुँदैन।'

'पुलिस हाम्रो साथी हो, साथीलाई हान्नु हुँदैन।'

उनीहरुले २५ मिनेटमा धर्ना कार्यक्रम सकिने अनि त्यसपछि आआफ्नो हिसाबले जाने जानकारी पनि गराए। तर, प्रहरीले उनीहरुको कुरा मान्न तयार भएन। र, 'भिड भयो भन्दै  ' प्रहरीले प्रदर्शकारीहरुलाई नियन्त्रण गर्न लाठी र पानीको फोहोर वर्षाउन थाल्यो। 

यसमा केही युवा घाइते समेत भए।



ट्रेन्डिङ पोस्ट

Ncell