PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोना भाइरसको पछिल्लो अपडेट : ३२३ संक्रमित थपिँदा ९६ जना डिस्चार्ज, कुन जिल्लामा कति?



विधुर ढकाल

कोरोना भाइरसको पछिल्लो अपडेट : ३२३ संक्रमित थपिँदा ९६ जना डिस्चार्ज, कुन जिल्लामा कति?

काठमाडौं : नेपालमा ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलवार इलाम जिल्लामा १ जना सहित ३२३ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३५३ जनाको नमुना परीक्षण गर्दा ३२३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रमितमध्ये तीन हजार ७९८ पुरुष र २८७ जना महिला रहेका छन्।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालको परीक्षणमा इलामका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै विवि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका ६ र सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २४ जनासहित ३० जनामा संक्रमण पुष्टि भएको छ। भरतपुमा गरिएको परीक्षणमा नवलपुरका ३, धादिङ, कपिलवस्तु र सप्तरीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। 

प्रदेशिक प्रयोगशाला जनकपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये धनुषाका २१ महोत्तरीका १९ र सर्लाहीका १ जना रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा दाङका ६ जनामा संक्रमण पुष्टि भएको छ। 

भेरी अस्पतालको प्रयोगशालामा बाँकेका ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको छ। 

सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १२ र सुर्खेतका ४ गरी १६ जनामा संक्रमण पुष्टि भएको छ। 

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सुदुरपश्चिम प्रदेशका ३७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये कञ्चनपुरका १९, दार्चुलाका १०, डडेलधुराका ७ र कैलालीका १ जना रहेका छन्। 

त्यस्तै, प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २० र कपिलवस्तुका २ जनामा संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धनुषाका २४, नवलपरासी पश्चिममा १२, महोत्तरीका ३१ जना र कपिलवस्तुका ७ जना रहेका छन्। त्यस्तै रौतहटका २१, सर्लाहीका १६, सिराहाका १२ र नुवाकोटका २ जना रहेका छन्। 

यता, मंगलवार कोरोना भाइरस संक्रमितमध्ये ९६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमध्ये जनकपुरबाट ३० जना, कोहलपुर आइसोलेसन सेन्टरबाट २२ र राप्ती सोनारी आइसोलेसन सेन्टरबाट ७ जना रहेका छन्।

त्यस्तै धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ४ र दैलेख जिल्ला अस्पतालबाट एक जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज भएकाहरुको संख्या ५८४ जना रहेका छन्। जसमध्ये ५०७ र महिला ७७ जना रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell