- राजु आचार्य -
नेपालमा समातेर विशेष उपकरणसहित छोडिएको तीन वटा गिद्धमध्ये एक भारतमा, अर्को एक नेपालमा र अर्को एक चीनको आकाशमा उडिरहेका छन्। ती हिमाली गिद्धहरु कास्की जिल्लाको, अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत ठूला खर्कनजिक (अस्ट्रेलियन क्याम्प) गिद्ध समातारेर त्यसमा स्याटलाइट ट्रान्समिटर जडान गरेर ६ महिनाअघि छोडिएको थियो। ती हिमाली गिद्धबारे नयाँ नयाँ जानकारीहरू आउन थालेपछि अनुसन्धानकर्मीहरु उत्साहित भएका छन्।
उक्त परियोजनाका मुख्य अनुसन्धानकर्मी डा. तुलसी सुवेदीले भने, ‘यिनीहरू दिनभरिमा ३ सय ६ किलोमिटरसम्म उडेका छन्। उड्ने गति ९१ किलोमिटर प्रति घण्टासम्म छ। सो दौरानमा समुन्द्र सतहबाट ७ हजार ५ सय १४ मिटरको उचाइसम्म पुगेका छन्।’
सुवेदीका अनुसार प्राविधिक कारणले गर्दा बीचबीचमा गिद्धको तथ्याङ्क पाउन सकिएन। 'सायद उपकरणको कारणले हुनुपर्छ। हामी यसको बारेमा अध्ययन गरिरहेका छौँ,' उनले भने, 'विगतको अनुभवलाई हेर्ने हो भने उपकरणले ४ वर्षसम्म काम गरेको अभिलेख छ।’
माथिको नक्सामा तीन थरीका रङ्गहरुले तीनवटा हिमाली गिद्धलाई प्रतिनिधित्व गर्छन्।
यो प्रजाति कताकता जान्छ, कति उचाइमा उड्छ, कुन गतिमा उड्छ र कुन ठाउँमा धेरै समय बिताउँछ भन्नेखाले जानकारीले यिनको संरक्षणमा टेवा पुग्ने विज्ञहरुको भनाइ छ। त्यसैका लागि यिनको अध्ययन थालिएको हो। यसरी छाडिएका गिद्धहरूको नाम सञ्जीव, सबिन र राजु दिइएको छ। करिब ६ महिनाको अवधिमा यिनीहरू प्रत्येकले औसत दैनिक ३६ किलोमिटर उडेका छन्।
वरिष्ठ चराविद् डा. हेमसागर बराल भन्छन्, ‘यी गिद्धको उडानले संरक्षित क्षेत्र बाहिर पनि हाम्रा संरक्षणका पाइला बढाउनुपर्ने देखिन्छ। यतिमात्र होइन अन्तर्देशीय समन्वयबिना यो चराको संरक्षण सम्भव छैन भन्ने पनि देखाएको छ।'
नेपालमा ठूला र सिकारी चराहरूलाई बढी नै चुनौती भएकाले अतिरिक्त कार्यक्रम गर्नुपर्छ भन्ने पनि अनुभव भएको उनले बताए। ‘वास्तवमा चराले कसरी संरक्षण गर्नुपर्छ भनेर हामीलाई सिकाइ रहेको छ,’ उनले भने।
हिमाली गिद्धको नाम |
जम्मा उडेको दुरी (कि.मी.) |
औसत प्रतिदिन उडेको दुरी (कि.मी.) |
पुगेको देश |
करिब १६० दिनको तथ्याङ्कको आधारमा तयार गरिएको।
|
राजु |
५७२६ |
३५ |
चीन, भारत र नेपाल |
|
सञ्जीव |
३८५० |
२४ |
चीन र नेपाल |
|
सबिन |
७७४४ |
४८ |
नेपाल र भारत |
यी गिद्धहरू मगोलिया र भुटानको नजिक समेत पुगेको देखिएको छ। गएको मङ्सिर २५ गते दिउँसो १ बजे ढाडमा बाँधिएको करिब १०० ग्रामको ट्रान्समिटर लिएर पहिलो हिमाली गिद्ध सकुशल उडेको थियो। त्यसपछि पछिल्ला दिनमा अन्य दुईवटालाई पनि यसैगरी छाडिएको थियो। यस अनुसन्धानमा मुख्य अनुसन्धानकर्मी डा. तुलसी सुवेदी सहितको टोलीमा सन्देश गुरुङ, सञ्जीव बानिया र सबिन केसी पनि संलग्न छन्। माथिको तथ्याङ्क यही जेठ ५ गतेसम्मको विश्लेषणका आधारमा तयार गरिएको हो।
नेपालमा पहिलोपटक र विश्वमा दोस्रो पटक गरिएको यस्तो अनुसन्धानलाई हिमाली प्रकृति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कोरिया इन्स्टिच्युट अफ इन्भाइरोमेन्ट इकोलोजी, जापान सोसाइटी फर प्रिजर्भेसन अफ वर्ड, नर्थ स्टार साइन्स एन्ड टेक्नोलोजीले सघाएका छन्।
यी सामग्री पनि तपाईँलाई रुची लाग्न सक्छन् :