
काठमाडौं: नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन सरकारको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका छन्।
इतिहास र प्रमाणले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भएको स्पष्ट भएको बताउँदै थापाले अब विदेशी फौज हटाउन महत्वपूर्ण रहेको बताए। यसका लागि सम्पूर्ण नेपालीको साथ सरकारलाई रहेको भन्दै भारतसँग वार्ता तथा अन्य विकल्पबारे भइरहेका तयारीबारे जानकारी दिन माग गरेका हुन्।
संसदमा नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै थापाले अष्ट्रेलिया र चीनसँग वार्ता गरिरहेको भारतले नेपालाई कोरोनापछि वार्ता गर्छु भन्नु बिडम्वना भएको बताउँदै नेपालले बलियो आन्तरिक तयारी गर्नुपर्नेमा जोड दिए।
‘यो भूभागमा प्रभावकारी सार्वभौम नियन्त्रण राख्नका लागि गाह्रो छ तर असम्भव छैन। यसका निम्ति उत्तेजना र आवेग होइन साहस र संयमता चाहिन्छ,’ उनले भने, ‘कुटनीतिक संयन्त्रण चनाखो हुन आवश्यक छ। हाम्रो अडानमा दृढ रहने र संगसँगै आफ्नो तयारी पनि गर्नुपर्नेछ। प्रधानमन्त्रीलाई तयारीबारे सदनलाई जानकारी गराउन आग्रह गर्दछु।’
लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकार र जनतालाई धन्यवाद दिँदै थापाले संविधान संशोधनजस्तै विदेशी फौज उठाउन पनि राष्ट्रिय एकता कायम रहने विश्वास व्यक्त गरे।
थापाले भारतका केही सोनामधन्य विज्ञले नेपालले कसैले उक्साएर नक्सा जारी गरेको भन्ने अभिव्यक्ति दिइरहेको भन्दै भारतले नक्सामा हाम्रो भूमि राख्ने, सडक उद्घाटन गर्ने र वार्ता पनि कोरोनापछि गर्ने रवैयाले नेपालले नक्सा जारी गरेको तिथिमिति तिनीहरुलाई सम्झाउन पर्ने बताए। ‘त्यसैगरी देशभित्रका केही अतिवादीहरुले पनि एउटा नेताको दैविक साहसको परिणाम हो भन्छन् तिनलाई पनि सम्झाउन पर्नेछ,’ उनले भने।
नेता थापाले संसदमा रहेको कांग्रेस र नेकपाको दुइटा संकल्प प्रस्तावलाई एउटै बनाउन आग्रह गरे। ‘नक्सामात्र होइन भूमिबाट विदेशी सेना पनि फिर्ता पठाएर छाड्छौं भन्ने संकल्प पनि संसदबाट गरौं,’ उनले भने, ‘अनि भनौ सरकारलाई पूर्ण साथ रहन्छ। खुट्टा नकमाउ।’ थापाले यसो भन्दा सत्तापक्ष सांसदले पनि ताली बजाएका थिए। सँगसँगै गफ मात्र होइन काम पनि गर, संसदप्रति जवाफदेही होउ भन्ने प्रस्ताव पनि पारित गर्न थापाले आग्रह गरे।
संकल्प प्रस्ताव एउटै बनाउने थापाको आग्रहलाई नेकपाका खगराज अधिकारीले नेकपा तयार रहेको बताए।
सांसद थापाले माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई पूरा साथ रहेको बताए। ‘तर सँगसँगै माटो जोगाउँदै गर्दा मानिसको बारेमा बोल्नपाउनु हुन्न भन्ने कुरा नछाडौं। तर मान्छेको बारेमा कुरा गर्दैगर्दा माटो केही पनि होइन भन्ने पनि कसैले पनि नगरौं,’ उनले भने।
थापाले थपे, ‘जसरी नक्साको सन्दर्भमा के मधेस के पहाड सिंगो देश, राजनीतिक दल एक ठाउँमा उभिएका छौं भोलि यो भूभागबाट विदेशी सेना फिर्ता पठाउन पनि एक ठाउँमा उभिन्छौं भन्ने प्रण सबैले गरेका छौं।’
यो तागतलाई सकारात्मक रुपमा लिएर सरकारले जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड छ। ‘संविधान संशोधन प्रस्ताव अघि बढ्दै गर्दा यो पनि प्रतिबद्धता गर्छु कि सँगै उभिएका छौं, उभिनेछौं,’ उनले भने।