PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सांसद गंगा चौधरीले भनिन्, ‘त्यहाँ आफ्नो देशको होइन विदेशको चिन्ता गर्नेको बाहुल्यता भयो’



प्रकाश भण्डारी

सांसद गंगा चौधरीले भनिन्, ‘त्यहाँ आफ्नो देशको होइन विदेशको चिन्ता गर्नेको बाहुल्यता भयो’

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा मंगलवार संविधानको दोस्रो संसोधन विधेयकमाथि छलफल शुरु भएको छ। सांसदहरुले छलफलमा भाग लिँदै आफ्नो धारणा राखिरहेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले पनि छलफलमा भाग लिन भन्दै नाम टिपाइन्। सांसदहरुले छलफलमा भाग लिनु पूर्व नै सभामुख अग्नि सापकोटाले संशोधनको सैद्धान्तिक पक्षमा मात्रै छलफल हुने भन्दै सचेत गराएका थिए। बोल्ने पालो आएपछि सांसद चौधरीले संविधान संशोधनमा छलफलका लागि भाग लिएको भएपनि कुरा शुरु गरिन् सांसद सरिता गिरीलाई लक्षित गर्दै।

गिरीको विरोध गर्ने क्रममा उनले राष्ट्रियतामाथि प्रश्न उठाउनेलाई कारबाही हुनुपर्ने तर्क अघि सारिन्। चौधरीले नेपालका उच्च पदस्थ व्यक्तिहरु नेपालको होइन भारतको हितमा बोलेको देख्दा आफूलाई दिक्क लागेको बताइन्।

‘संसदमा प्रतिनिधित्व गर्ने सांसदले जब आफ्नो देशको होइन विदेशीको चिन्ता गरेको देख्दा दिगदारी लाग्छ,’ उनले लेखेको भाषण पढ्दै भनिन्, ‘संसद यस्तो ठाँउ हो जहाँ राज्य सञ्चालन गर्ने कानुन बन्छ। त्यहाँ आफ्नो देशको होइन विदेशको चिन्ता गर्नेको बाहुल्यता भयो भने...’

उनले यति बोल्दै गर्दा सभामुख सापकोटाले उनलाई संविधान संशोधनका विषयमा मात्रै बोल्न सचेत गराए।

लेखेको भाषण पढिरहेकी चौधरी त्यसपछि डायरीलाई बन्द गर्दै झन् आक्रोशित बनिन्।

औँला उठाउदै उनी बोल्न थालिन्, ‘सभामुख महोदय, मुटुमा राख्छु मेरो देश, मेरो परिवार, समाज छिमेकी भन्दा महत्वपूर्ण हो मेरो देश, मेरो राष्ट्रियता हो, अखण्डता हो।’

भारतले सुगौली सन्धि नमान्ने भए नेपालले पनि मानिरहनु जरुरी नभएको तर्क थियो चौधरीको। उनले भूगोलको रक्षाका निम्ति ग्रेटर नेपालको नक्सा ल्याउन पर्ने समेत बताइन्।

बेलाबेलामा सभामुखले उनलाई संविधान संशोधनका विषयमा बोल्न सचेत गराइरहे तर उनले आफ्ना भनाइलाई रोकिनन्।

यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले हिन्दीमा भाषण गर्दै भारतलाई नसोधेर नेपालले नयाँ नक्सा जारी गरेको भन्दै विरोध गरेकी थिइन्।

जेठ १९ गतेको संसद बैठकमा सांसद चौधरीले गिरीको विरोधलाई भारतीय चेलीको संसदमा दादागिरी चल्न थालेको भन्दै आपत्ति जनाएकी थिइन्। चौधरीको विरोधपछि गत २३ गतेको बैठकमा सांसद गिरीले घृणा फैलाउने भाषण गरेको भन्दै चौधरीलाई कारबाहीको माग गरिन्।

उनको मागपछि सांसद चौधरीले मंगलवार फेरि संसदमा गिरीलाई नै लक्षित गरी भाषण शुरु गरेकी थिइन्।

त्यसक्रममा उनले गिरीमाथि कारबाहीको माग समेत गरिन्। दुई सांसदको सवाल जवाफपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। सांसद गिरीले एक टेलिभिजन अन्तर्वातामा लिम्पियाधुरालाई नेपालको भनेर आफूले स्वीकार्न नसक्ने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell