PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोरोनाबाट बच्न जो विदेशबाट गाउँ फर्किए : तर, घरै पुग्न नपाई क्वारेन्टाइनमै हारे भाइरससँग



पी बी खड्का

कोरोनाबाट बच्न जो विदेशबाट गाउँ फर्किए : तर, घरै पुग्न नपाई क्वारेन्टाइनमै हारे भाइरससँग

सुर्खेत : रोजगारी लागि भारतको गुजरात पुगेका दैलेख दुल्लु नगरपालिका–११का ३५ वर्षे युवा कोरोना संक्रमणबाट बच्न घर फर्किए। जेठ ७ गतेमात्रै उनी गाउँ पुगेका थिए। आफुसँगै घरपरिवार र समाजलाई सुरक्षित राख्न नगरपालिककै विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसे।

तर, क्वारेन्टाइनमा बसेको दश दिनपछि जेठ १७ गते बिहान बेहोस् भए उनी। क्षणभरमै चिकित्सकले उनलाई मृत घोषणा गरे। घरपरिवारसँगै हुने र खुशी साट्ने रहर त्यही रोकियो। भाइरसबाट बच्न गाउँ फर्किएका ती युवाको बाँच्ने आश ‘फुल स्टप’ लाग्यो।

जेठ १५ गते नै उनको थ्रोट स्वाब संकलन गरिए पनि परीक्षणको रिपोर्ट भने आएको थिएन्। मृत्युपछि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो।

‘बाँच्नकै लागि भारतबाट गाउँ आए तर, घर नपुगेर ज्यान गुमाए,’ मृतकका आफन्त हर्क थापाले भन्छन्, ‘घरपरिवारसँग भेटघाट र खुशी साट्न नी पाएनन्। समयमै चेक गराउन पाए, उपचार गरेर बच्थे कि। रिपोर्ट नै मरेपछि आयो।’

अव्यवस्थित क्वारेन्टाइनकै कारण दैलेखमा झन् जोखिम बढेको उनले बताए। ‘जिल्लामा अहिले व्यवस्थित क्वारेन्टिन पनि छैनन्। आउने क्रम पनि रोकिएको छैन्,’ उनले भने, ‘छिटो स्वास्थ्य परीक्षणको दायरा बढाउन सके राम्रो हुनेथियो।’

हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। स्थानीय सरकारको कमजोर परीक्षण प्रणाली र प्रदेश सरकारको भद्रगोल व्यवस्थापनका कारण कोरोना संक्रिमतले कारण थाहा नपाएर ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ। उनीहरूको रोग समयमै थाहा भएको भए ज्यान जान सक्ने स्थिति कम हुने स्थानीय दिनेश बडुवालले बताए। कर्णालीमा कोरोना परीक्षणका खेलाँची गरिएको उनको भनाइ छ।

यस्तै, रोजगारीमै भारत रहेका सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का २० वर्षे युवा पनि जेठ पहिलो साता गाउँ फर्किए। कोरोना रोकथाम तथा नियन्त्रण गर्न जनता माविमा निर्माण गरिएको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बसे। जेठ २१ गते क्वारेन्टिन बसाईपछि आरडीटी गर्दा रिपोर्ट नेगेटिभ देखियो।

रिपोर्ट नेगेटिभ देखिँदा खुशीको सिमानै थिएन्। कोरोनाबाट बच्नकै लागि दिन रात, न भोक, न निन्द्रा भनेर गाउँ आए। ति दुःख मेटाउन खुशी लिएर घर लागे।  घर परिवारसँग भेटघाट नगर्दै उनको यात्रामा ब्रेक लाग्यो। खुशी पनि त्यही रोकियो। सवै इच्छा, आकांक्षा त्यही सकियो। कोरोनबाट बच्न हप्तौ लगाएर घर फर्किएका ति युवाले अन्तत: मृत्युसँग हारे।

‘लक्षण पनि केही थिएन, आरडीटी परीक्षण गर्दा केही नदेखिएपछि एक हप्ता होम क्वारेन्टाइन बस्ने गरेर पठाइएको थियो,’ वडाअध्यक्ष धनबहादुर थापाले भने,‘घरपरिवारबाट अलग्गै थियो। घरपरिवारमा राम्रोसँग भेटघाट पनि हुन पाएन।’

स्वास्थ्य महाशाखाका अनुसार उनमा कोभिड–१९ को कुनै लक्षणहरु नभएको भन्दै २२ गते विहान मृत्यु भएको पुष्टि गर्‍यो। मृत्युपछि युवाको स्वाब संकलन गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो कोरोना।

यसैगरी घरमै पुगेर मृत्युसँग हारे डोल्पा जगदुल्ला गाउँपालिका–३ का एक पुरुषले पनि। जेठ १६ गते सुर्खेतबाट डोल्पा आफ्नो स्थाई घर पुगेर होम क्वारेन्टाइनमा बसेका उनको जेठ २० गते मृत्यु भयो। ५८ वर्षे ती पुरुष अस्थायी रुपमा सुर्खेतमा बस्दै आएका उनी कोरोना भाईरस संक्रमणबाटै बच्न घर पुगेका थिए।

तर, उनी कोरोना संक्रमणबाट जोगिएनन्। अन्तत: कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखियो। मृत्युपछि २२ गते स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

मृत्युपछि स्वाब संकलन गरी आरटी पिसिआर गर्दा तिनै जनाको रिपोर्ट पोजेटिभ आएको यसअघिनै प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले पुष्टि गरिसकेको छ।

हप्तौँ लगाएर गाउँघर पुगेका यि नागरिकले कोरोना संक्रमणले मृत्यु भएको था हानै पाएनन्। मृत्युपछि मात्रै पत्ता लाग्यो कोरोना भाईरस।

लकडाउनकै अवधिमा लामो दुरी पार गरी गाउँ फर्किएका पाँच जनाको मृत्यु भैसकेको छ। यि घटना बाहेक सुर्खेतका अर्का एक जनाको कोरोना नेगेटिभ आएको थियो भने, जुम्लाका एकजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

पछिल्लो समय रोजगारीका लागि भारत गएकाहरु अझै फर्किने क्रम रोकिएको छैन। प्रदेशका नागरिक झण्डै दुई लाख नागरिक भारतमा रहेको प्रदेश सरकारको आंकलन छ। जेठको पहिलो सातादेखि यता झण्डै ३५ हजारको हाराहारीमा भित्रिएको अनुमान छ। यसरी भित्रिएकालाई राख्ने व्यवस्थित क्वारेन्टाइनसमेत छैनन्। त्यसैले पनि कर्णालीमा कोरोना भाइरस अझ फैलिने पक्का छ। भित्रिएका नागरिक सबैको स्वास्थ्य परीक्षण गर्न सके संक्रमण फैलिन कम हुने थियो।

कर्णालीमा सर्वसाधारण नागरिकदेखि सांसदहरुले समेत प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको दायरा बढाउन सुझाव दिइरहेका छन्। परीक्षणको दायरा बढे यसरी विचबाटोमै र क्वारेन्टाइनमै मृत्यु हुने अवस्था टर्ने र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने सर्वसाधारणको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell