काठमाडौँः कोरोना भाइरस नियन्त्रणका लागि नेपालले लकडाउन गर्दा संक्रमितको संख्या जम्मा दुई थियो। सरकारले लकडाउन गरेसँगै एकथरी मानिसले एसईईकै अघिल्लो दिन लकडाउन गरेर बिचल्ली बनाएको आरोप लगाए। त्यसो त एसईईमात्र हैन स्नातक र स्नाकोत्तर तहका समेत केही संकायका परीक्षा रोकिएका थिए। लकडाउन बढ्दै जाँदा अहिले वैकल्पिक शिक्षा चर्चामा छ। र एसईई लगायतका परीक्षा के हुने भन्ने चासोका रुपमा हेरिएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल एसईईको तीनवटा विकल्पको बारेमा बहस भइरहेको बताउँछन्।
मंगलबार नमुना विद्यालय सञ्जाल र सिकाइ समूहको संयुक्त आयोजनामा भएको डिजिटल संवाद कार्यक्रममा एसईई अब के हुने भन्ने विषयमा मन्त्री पोखरेलले चर्चा गरेका हुन्।
कक्षा१०,११ र १२ को परीक्षाका लागि लगिरहेको बताउँदै यसका लागि विभिन्न विकल्पहरुमा बहस चलिरहेको उनले बताए।
‘पहिलो कुरा सेन्टर बढाउँ भन्ने छ। १० को परीक्षाको सम्भावना छैन भने विद्यार्थीको सक्षमताको मापन कसरी गर्ने भन्ने पनि छ,’ मन्त्री पोखरेलले भने, ‘विद्यार्थीले आफूलाई कोरोना ब्याच नभनियोस् भनिरहेका छन। भारत लगायत अरु देशमा परीक्षा लिइरहेको पनि अवस्था चाहिँ छ।’
यद्यपि बाहिरको अवस्था हेरेर भन्दा पनि आफ्नो अवस्था अनुकूल निर्णय गरिने पोखरेलले बताए।
‘अर्को कुरा १२ लाई अन्तिम परीक्षाको रुपमा लिएर जाउँ भन्ने कुरा छ।’ अर्को विकल्पबारे चर्चा गर्दै उनले भने।
पोखरेलले आन्तरिक रुपमा गरिएको मूल्याङकनका आधारमा राष्ट्रिय परिक्षा बोर्डले प्रमाणीकरण गर्ने भन्नेबारे पनि बहस चलिरहेको बताए। पछिल्लो समय प्याब्सन लगायतका संस्थाहरुले विद्यालको आन्तरिक मूल्याङकनलाई नै प्रमाणीकरण हुनेगरी विद्यार्थीलाई बाटो खोलिदिन आग्रह गर्दै आएका छन्।
‘व्यवाहारिक कुरा सिकाउन प्रेरित गर्नुहोस्’
देशभरका विभिन्न विद्यालका प्रधानाध्यापक लगायत शिक्षा सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री पोखरेलले सिकाई कसरी अघि बढाउने भन्ने विषयमा चर्चा गरे।
पछिल्लो समय शिक्षा निर्देशिकालाई असार १ गतेबाट लागू गर्ने भन्ने विज्ञप्ति निकालेसँगै ‘महामारीका बीचमा विद्यालय खोल्न खोजेको’ भन्ने आरोप खेपेका पोखरेलले निर्देशिका अनुसार औपचारिक शिक्षाभन्दा सिकाइलाई जोड दिनुपर्ने बताए।
'सिकाइलाई निरन्तरता दिन, संकटको बेलामा पनि विद्यार्थीको सिक्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित छ।’ उनले भने, ‘ विद्यार्थीलाई विभिन्न विधिबाट सिकाइ गराउने भन्ने छ। मानव स्रोत विभागले यसका लागि सामाग्री निर्माण गरिरहेको छ।’
निर्देशिका बमोजिम विद्यार्थीलाई कम्प्युटर र इन्टरनेटको पहुँचमा भएका, कम्युटरको पहुँचमा भएका, टिभीको पहुँचमा भएका, रेडियोको पहुँचमा भएका र प्रविधिको पहुँचमा नभएका विद्यार्थी गरि वर्गीकरण गरी सिकाइ प्रक्रिया अघि बढाइने बताइएको छ। यसका लागि विद्यार्थीको वर्गीकरणको जिम्मा विद्यालयको समन्वयमा स्थानीय तहलाई दिइएको छ भने आवश्यक सामाग्री निर्माणको जिम्म शिक्षा विभागलाई छुट्याइएको छ।
‘कोभिडले शिक्षा सुधारमा अवसर पनि दिएको छ। औपचारिक शिक्षाबाट मात्र सिकाइ हुने मात्र होइन’, मन्त्री पोखरेलले आफूले भर्चुअल अनलाइन शिक्षालाई अन्तिम विकल्पका रुपमा मात्र हेरेको बताए।
उनले औपचारिक शिक्षा सुरु भएको धेरै नभएको तर्क गर्दै औपचारिक शिक्षा सुरु हुनुभन्दा अघि पनि सिकाइ हुने गरेको तर्क अघि सारे।
‘विद्यार्थीलाई समस्यासँग सामना गर्न सिकाउन सकिन्छ। उनीहरुलाई तालिका बनाएर ध्यान, व्यायामहरुमा जोडन सकिन्छ,’ उनले भने, ‘व्यवाहारिक कुराहरु सिकाउनु होस्। गीत संगीतसँग जोडिदिनुस्। प्रकृतिसँग जोडिदिनुस्।’
पोखरेलले अनलाइन विकल्पमात्र भएको बताउँदै स्वअध्यन सबैभन्दा राम्रो विकल्प भएको जिकिर गरे।
‘कतिपय पालिकाहरुमा रेडियोबाट पठनपाठन भइरहेको छ। टिभीमा पनि चलिरहेको छ। त्यसबाहेक अरु सामाग्री पनि बनिइरहेको छ’, उनले भने, ‘जहाँ जे सम्भव छ त्यही प्रयोग गरेर विद्यार्थीहरुलाई जोड्नु परो। हामी छरिएका छौँ। कोभिडसँगको समग्र लडाइ हुँदैछ।’
+++
सरस्वती मावि लालबन्दीका प्रधानाध्यापक रामनिवास साह पछिल्लो समय आफूहरुले अनलाइन कक्षाको अभ्यास गरिरहेको बताउँछन्।
उनले विद्यालको माथिल्लो तहमा पछिल्लो समय पाँचवटा विषय अनलाइन माध्यमबाट पढाइरहेको बताए।
‘कक्षा १० मा ३३० जना विद्यार्थी मुस्किलले ४०/५० जना विद्यार्थी हुन्छन्,’ उनले भने, ‘कहिले लाइन गइदिन्छ। सबैको वाइफाइ छैन। डाटा प्रयोगगर्दा महङ्गो भयो। फेरि सबै विद्यार्थी पहुँच भएको छैनन्।’
अधिकांश प्रधानाध्यापकको गुनासो त्यही छ। यसबाहेक विद्यालका लागि छुट्टिएर आएको बजेट काम नहुँदै फ्रिज भएर जाने डर प्रधानाध्यापक हरुको छ। त्यस्तै केही प्रधानाध्यापकको चासो केही सहज अवस्था भए पनि विद्याल कसरी सञ्चालन गर्ने भन्ने छ।
‘त्यसै पनि खचाखच विद्यार्थी हुन्छन्। आजकल सामाजिक दूरीका कुरा आएका छन्। केही सामान्य अवस्था आए पनि विद्यालयका यही संरचनामा त सामाजिक दूरी कायम राखेर पढाउन सकिने अवस्था हुँदैन,’ सहभागी प्रदेश २ का एक प्रधानाध्यापकले भने।
सामुदायिक विद्यालमा मात्र क्वारेन्टाइन किन?
केही प्रधानध्यापक असन्तुष्ट सुनिए सामुदायिक विद्यालयलाई मात्र क्वारेन्टाइन बनाएको विषयलाई लिएर। सर्लाहीस्थित एक विद्यालका प्रधानाध्यापक रामेश्वरप्रसाद यादव कोभिड १९ संक्रमित अहिले विद्यालको क्वारेन्टाइनमा रहिरहेको अवस्थामा विद्यालय सञ्चालनको योजना कसरी बनाउने भन्ने चिन्तामा छन्।
‘विद्यालयहरु सिकाइभन्दा बाहिर गएर क्वारेन्टाइन बनेका छन्। कोभिड पोजेटिभ पनि यहाँ दिनपिच्छे पाइरहेको छ’ उनले भने।
बुटवलस्थित एक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक त विद्यालयलाई मात्र क्वारेन्टाइन बनाएको विषयमा झन आक्रामक सुनिए।
‘सामुदायिक विद्यालयलाई युद्धस्थल बनाइएको छ। पार्टी प्यालेस, होटल, सिनेमा घर थिए। सामुदायिक विद्यालय नै किन पर्यो?’ उनले प्रश्न गरे।
अखिल नेपाल शिक्षक संघका अध्यक्षसमेत रहेका पाठकले सामुदायिक विद्यालयलाई मात्र तारो बनाइएको आरोप लगाए।