PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लकडाउनमा पनि दशरथ रंगशालामा मैदानको काम, वर्ल्डकप क्वालिफायरका लागि कति तयार?



मुकुन्द घिमिरे

लकडाउनमा पनि दशरथ रंगशालामा मैदानको काम, वर्ल्डकप क्वालिफायरका लागि कति तयार?

कोरोनाको महामारीका कारण लकडाउन चलिरहेको छ। लकडाउनसँगै केही क्षेत्रहरु भर्खर खुल्न थाल्दैछन् भने केहीको अझै टुंगो छैन। खेलकुद क्षेत्र त पूरै ठप्प। यसले पारेका कयौं नकरात्मक पाटाहरु होलान् तर केही सकारात्मक पक्षहरु पनि छन्।

दशरथ रंगशाला त्यसको उदाहरण हो जहाँ लकडाउन चलिरहँदा पनि मैदानको स्तरोन्नतीको काम रोकिएको छैन। फागुनमा शहीद स्मारक ए डिभिजन लिग सकिँदा मैदानको दुरावस्था देखिन थालिसकेको थियो। अहिले भने मैदान मैदानजस्तो बनेको छ। जसका लागि जुटेका छन् ग्राउन्ड म्यानेजर दीलिप रजकसँगै मैदानका कामदारहरु।

'फागुन ३ गतेसम्म लिग थियो। लिगकै बीचमा भिजिट नेपालको कार्यक्रम पनि भएको थियो,' मैदानको अवस्थाबारे कुरा गर्दै रजतले भने, 'त्यतिबेला फिल्डमा घाँस भन्ने नै नभएको अवस्था थियो। ८० प्रतिशत सम्म त फिल्डमा माटैमाटो थियो।'

पूर्व फिफा रेफ्रीसमेत रहेका रजक 'आर्टिफिसियल टर्फ एन्ड नेचुरल फिल्ड' बारे फिफाबाटै ट्रेनिङ गरेका नेपालका एकमात्र व्यक्ति हुन्।

यसअघि मंसिरमा वर्ल्डकप क्वालिफायर अन्तर्गतको नेपाल र कुवेतबीचको खेलमा मैदान र प्यारापिटको अवस्था योग्य नभएको भन्दै एएफसीले नेपालमा खेल हुन नसक्ने स्पस्ट पारेको थियो। र, नेपालले होमम्याच पनि भुटानमा गएर खेल्नु परेको थियो।

त्यसपछि साग सुरु हुँदैखेरि प्यारापिट पनि सबै तयार भयो। त्यसपछि शहीद स्मारक लिग भयो। खेल बाहिरका कार्यक्रम पनि भए। फागुनमा लिग सकिँदा रंगशालाको मैदानको अवस्था खराब भइसकेको थियो। हरियो देखिनु पर्ने मैदानमा माटैमाटो देखिन थालेको थियो। त्यसपछि चैत महिनामा तय नेपालको अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेलका लागि मैदानको स्तरोन्नति सुरु भयो। यसैका लागि बी डिभिजन लिगका खेलहरु सबै एन्फा कम्प्लेक्स सातदोबाटोमा तय गरियो। तर बीचमा कोरोना आइदियो र विश्वकप छनोट अन्तर्गतका खेलहरु अनिश्चित कालका लागि स्थगित भए।

त्यसैबेला पनि मैदान विश्वकप क्वालिफायर्सका लागि योग्य बनाइसकेको रजत बताउँछन्। अझ समय थपिँदा लकडाउनमा मैदान थप हरियो बन्दै गएको छ।

'शहीद स्मारक लिग सकिएपछि यो फिल्डमा दुवो चपरीहरु लभभग ४०/४५ जति चपरि बिच्छ्याएँ। त्यसपछि माटोमा भिटामिन केमिकलहरु मलहरु, पिनाजस्ता अनेक थोक राखेर मैले यो घाँस उमारेको हो,' रजतले मैदानमा गरिएको कामबारे भने, 'त्यतिबेला चैत १३ गतेका लागि एएफसीबाट निरीक्षणका लागि पनि आउनु भएको थियो। उहाँले ग्राउन्डको अवस्था ठीक छ। गेम हुनसक्छ भन्नु भएको थियो।'

मैदानलाई स्तरीय बनाउने काम त्यति सहज भने छैन। माटो र दुबोको खोजीमा रजत टाढाटाढासम्म पुग्छन्।

'दुबो अलि टाढाबाट ठाउँठाउँबाट ल्याएको छु। उता बुङमती पारी, टीकाभैरव तिरबाट। नेपाल सरकारले बनाइरहेको फास्ट ट्र्याक छ नि त्यहाँको ठाउँठाउँमा समन्वय गरेर ल्याएको हो,' उनले भने, 'माटो चाहिँ मैले भक्तपुरको साइटबाट खानीबाट ल्याउँछु। कामदार चाहिँ त्यस्तै २०/२५ जना हुनुहुन्छ। कोही माटो छर्ने। कोही खन्ने।'

रंगशालामा पुग्दा उनी घोडेदुबो उखेल्दै थिए। दुबोसँगै आउने घोडेदुबोलाई हटाउनुपर्ने हुन्छ। यो घोडेदुबो झाँगिएर जाने र यसले चाहिने दुबोलाई आउन नदिने उनले सुनाए।

अहिले पानी पनि परिरहेको हुनाले घाँस त्यतिकै उम्रिरहेको छ।

'मैदानमा अहिले घाँस सार्ने, झारहरु उखेल्ने त्यस्तै कामहरु छ। हामी घाँस काटैको काट्यै छौं। वर्खाले गर्दा घाँस बढेको बढ्यै छ,' उनले भने, ' नचाहिने घाँस काट्न चाहिँ छाड्नु हुँदैन।'

एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले विश्वकप छनोटका स्थगित भएका खेलहरु अक्टोबर र नोभेम्बरमा खेलाउने प्रस्ताब गरेको छ। खेल हुने एकमहिना बाँकी रहँदा रोलिङ र लेबलिङको काम सुरु हुने रजतले बताए।

'वर्ल्डकप क्वालिफाइङका लागि अहिले मैदान उपयुक्त छ। अब मल र माटो छर्छौं। रोलिङ गरेर लेबलिङ मिलाउँछौं। बाँकी काम अरु खासै छैन,' उनले भने, 'बर्खा भएकाले घाँसचाहिँ काटिरहनु पर्छ। काट्ने र गोड्ने काम गरिरहनु पर्छ। गेमको मिति फिक्स भएको एकमहिना अघि लेबलिङ गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell