
काठमाडौं : काठमाडौँ उपत्यकाभित्र केही दिनयता सडकमा सवारीको चाप बढेपछि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलवारमात्र काठमाडौँ उपत्यका भित्रबाट ४ हजार १ सय ७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
सरकारले लकडाउन घोषणा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको अहिलेसम्मकै सबैभन्दा धेरै सवारीको सङ्ख्या हो। ३ हजार ६ सय ४७ वटा दुई पाङ्ग्रे र ४ सय ६० वटा चार पाङ्ग्रे गरी जम्मा ४ हजार १ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए।
सरकारले लकडाउन नखोलिसकेकाले थप कडाइ गर्ने एसएसपी ढकालले जानकारी दिए। 'लकडाउन खुलिसकेको अवस्था छैन। पास र अनावश्यक रूपमा हिँडेका सवारीलाई निगरानी गरेर कारबाही गर्छौँ,' एसएसपी ढकालले भने।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारीको चेक गरिरहेको छ। पछिल्लो समय विनाकाम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको ढकालले बताए।
काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४ सय ६ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको एसएसपी ढकालले बताए। ट्राफिक प्रहरीले लकडाउनको समय खाली सडक हुने भएकाले पास भएका सवारीले पनि तीव्र गतिमा नचलाउन अनुरोध गरेको छ।