
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजे मन्त्रिपरिषदको वैठक बोलाएका छन्। मंगलवारका लागि तय भएको बैठक स्थागित भएपछि बुधवार बस्न लागेको हो। मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
'नियमित बैठक बस्न लागेको हो। विभिन्न क्षेत्रका प्रस्तावबारे छलफल हुने छ,'उनले भने।
आजको बैठकमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा पनि छलफल हुने थापाले बताए।
तर, आजकै बैठकले लकडाउनको मोडालिटीबारे भने निर्णय नगर्ने थापाको भनाई छ। यसअघि आइतवार राति अबेरसम्म प्रधानमन्त्री ओली सम्मिलित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउन मोडालिटीबारे छलफल भएको थियो। अबेर रातिसम्म प्रधानमन्त्री सहभागी भएर बैठक बसेपनि कुनै टुंगोमा भने पुगेको थिएन।
लामो समयदेखि लकडाउन खुकुलो बनाउँदै जाने विषयमा मन्त्रिपरिषद तथा उच्चस्तरीय समितिमा छलफल भए पनि के गर्ने भन्ने टुंगो लगेको छैन। यसअघि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग लकडाउन कसरी खुकुलो बनाउने भन्ने विषयमा छलफल गरेका थिए। विज्ञहरुले लकडाउन खुकुलो बनाउनको विकल्प नभएको सल्लाह दिएका थिए।