PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गण्डकी प्रदेशका ८ फुटबल संघ अध्यक्षहरुले मागे सांसद यादवको राजीनामा



पहिलोपोस्ट

गण्डकी प्रदेशका ८ फुटबल संघ अध्यक्षहरुले मागे सांसद यादवको राजीनामा

काठमाडौं: गण्डकी प्रदेश अन्तर्गतका ८ जिल्ला फुटबल संघ अध्यक्षहरुले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको राजीनामा माग गरेका छन्।

गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट एन्फाको गण्डकी प्रदेशमा १७ करोड रुपैयाँको बहुद्देश्यिय तालिम केन्द्र निर्माणको स्वागत गर्दै प्रदेशमा निर्माण हुन लागेको ड्रिम प्रोजेक्टबारे अफवाहहरु फैलाएकोमा आफूहरुको ध्यानाकर्षण भएको बताएका छन्। त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई असफल बनाउन एन्फा भित्रैका व्यक्तिहरुसमेत लागेको निश्क‍र्ष पनि एक विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

'फुटबलको विकासलाई कमजोर पार्न एन्फा भित्रैका मानिसहरु लागिरहेको र त्यस्ता व्यक्तिहरुलाई समेत अनुशासनको कारवाही दायरामा ल्याउनुपर्ने र त्यस्ता ब्यक्तिहरुसँग बेलैमा सम्पूर्ण फुटबल प्रेमीहरु सचेत हुनका साथै त्यस्ता व्यक्तिहरुका विरुद्द एकजुट हुन गण्डकी प्रदेशका फुटबलकर्मी अनुरोध गर्दछ।' अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गण्डकी प्रदेशका अध्यक्षहरुले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई जसपाका सांसद प्रदीप यादवले १७ करोड लिएको भन्ने निराधार आरोप लगाएको भन्दै राजीनामा माग्ने समेत निर्णय गरेको बताएका छन्।

'सांसद यादवले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको भन्ने निराधार आरोप लगाउनु भएको छ,' विज्ञप्तिमा लेखिएको छ, 'त्यसलाई पुष्टी गर्न र कपोकल्पित कुरा गर्दै हिँड्ने निज सांसद यादवको राजीनामा माग गर्ने एन्फा बैठकले निर्णय गरेको छ।'

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले विभिन्न ठाउँमा हेरेर भेडाबारीमा उपयुक्त ठाउँ हुने भएकाले एन्फाको 'ड्रिम प्रोजेक्ट' त्यहाँ बनाउने प्रकृया अघि बढेको दाबी गरे।

'यो प्रोजेक्ट कास्की जिल्लाको मात्र होइन नेपालको हो। यहाँ उपयुक्त ठाउँ भएकाले आएको हो। तनहुँलगायत धेरै ठाउँमा जग्गा हेरेपछि भेडाबारीमा उपयुक्त जग्गा भेटिएको हो,' अध्यक्ष गुरुङले भने, 'खेलकुद मन्त्रीको ठाउँ भनेर हामीले ल्याएको पनि होइन। फिफाको मान्छेहरु आएर 'ओके' गरेपछि छानिएको ठाउँ हो।'

प्रतिनिधिसभामा सांसद यादवले पोखरामा एन्फाले १७ करोडको प्रोजेक्ट मन्त्रीको क्षेत्र भएकाले सुरु गरेको आरोप लगाएका थिए।

यादवको जवाफमा मन्त्री विश्वकर्माले आरोप पुष्टी गर्न चुनौती दिएका थिए।

'माननीय ज्युले भन्ने खोजेको के हो? आशय के हो? सम्बन्धित माननीय ज्युले नै स्पष्ट पार्नुपर्‍यो। उहाँले जे भन्नु भएको छ भनेको त्यही हो भने विषय गम्भीर छ।' प्रतिनिधिसभामा मन्त्री विश्वकर्माले भने, 'यसले मलाई दुखी तुल्याएको छ। जुन शब्दमा अभिव्यक्ति दिनुभएको छ उहाँले भन्न खोजेको त्यही हो भने त्यसलाई प्रमाणीत गरेर देखाउन म चुनौती दिन्छु।'

जेठ १९ गते बसेको एन्फा कार्यसमितिको भर्चुअल बैठकले पोखरामा बन्न लागेको बहुद्देश्यिय ट्रेनिङ सेन्टरका लागि १७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell