PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गगन थापालाई प्रधानमन्त्रीको जवाफ: १० अर्बको हिसाबको चिन्ता नगरौं, कोभिडको चिन्ता गरौं



पहिलोपोस्ट

गगन थापालाई प्रधानमन्त्रीको जवाफ: १० अर्बको हिसाबको चिन्ता नगरौं, कोभिडको चिन्ता गरौं

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको १० अर्बको चिन्ता नगर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले कोरोना नियन्त्रणमा भ्रष्टाचार नभएको बताए। 'दिनैपिच्छे लेखापरीक्षण हुँदैन। अहिले कामका बेला लेखा परीक्षणमा केन्द्रित गर्नु पनि छैन। काममा बढी केन्द्रित हुनुपर्छ,' उनले भने।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले १० अर्बको हिसाब देखाउन माग गरेकोमा जवाफ दिँदै ओलीले हिसाबको चिन्ता नगर्न आग्रह गरेका हुन्।

थापाले मंगलवारको बैठकमा सरकारले १० अर्ब कहाँ खर्च गर्‍यो? एक एक हिसाब चाहिन्छ भनेका थिए। उनले पीसीआर मेसिन र किट किनेर १० अर्ब नसकिने जिकिर गरेका थिए।

सरकारले गर्ने खर्चको हिसाब राष्ट्रपतिको कार्यालयमा रहेको ओलीको भनाई छ। संसदमा पनि सरकारले गरेको खर्चको रिपोर्ट भएको ओलीको भनाई छ। 'सरकारी काम कारबाहीको हिसाब हुन्छ। त्यो महालेखा परीक्षकको प्रतिवेदन वार्षिक रुपमा आउँछ। रुजु बेरुजु पनि आउँछ। आन्तरिक लेखा परीक्षणको हिसाब आउँछ। अहिले हिसाबको चिन्ता नगरौँ। कोभिडको चिन्ता गरौँ,' उनले भने।

अहिलेको बेला हिसाब गर्ने नभएको र कोरोना नियन्त्रणमा काम गर्ने बेला भएको उनले बताए। स्थानीय तहलाई सरकारले बजेट उपलब्ध गराएर काम भइरहेको ओलीको भनाई थियो। स्थानीय तहहरु नाजुक अवस्थामा भएकाले सरकारले बजेट उपलब्ध गराएर कोरोना नियन्त्रणको काम गरिरहेको प्रधानमन्त्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell