
काठमाडौं : नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कोरोना संक्रमणबाट निधन भएकाहरुलाई अर्कै रोगले मरेको भन्दै सरकारले आफ्नो गल्ती ढाकछोप गरेको आरोप लगाएकी छिन्।
बुधवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका १५ जना कोरोनाका कारणमात्रै मृत्यु नभएको बताएका थिए।
उनले प्रमलाई प्रश्न गरिन, 'मरेपछि भए पनि पीसीआर टेस्ट गरेर प्रमाणित भइसक्यो, उ कोरोना संक्रमणबाट मर्यो भनेर। अनि उसलाई अर्कै रोग थियो? यहाँ हामी बसेका सबैमा एउटा न एउटा रोग छ। सरकार आफ्ना कमजोरी ढाकछोप गर्न अर्कै रोगले मरेको भनेर पन्छाउन चाहन्छ।
त्यस्तै पार्वता डिसी चौधरीले पनि प्रधानमन्त्रीको गैरजिम्मेवारी जवाफ भएको बताइन्। '१५ जना मर्ने अवस्थामा थिए र मरे भन्नु'भो जुन दु:खलाग्दो कुरा हो,' उनले भनिन्।
प्रधानमन्त्रीले यस्तो कुरा गर्न नसुहाउने उनको तर्क थियो।