7.jpg)
काठमाडौं : तपाईँले कोरोना संक्रमणबाट जोगिन प्रयोग गर्दै आएका सुरक्षाका उपकरणहरु नक्कली त छैनन्? एकपटक खरीद गर्दाखेरी राम्रोसँग हेरेर मात्र खरीद गर्नुहोला। अहिले बजारमा पाइने केही स्यानिटाइज लगायत अन्य कस्मेटिक सामानहरु नक्कली समेत भेटिन थालेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार यस्ता नक्कली सामान बनाएर बजारमा बिक्री बितरण भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ। त्यस्तै ठूलो परिमाणमा नक्कली स्यानिटाइटर लगायतका सामाग्री समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा भारतको वनारस घर भइ काठमाडौं-१६ नयाँबजार, खुसिबु बस्ने ६५ वर्षीय अब्दुल मनान र कलंकी बस्ने ३३ वर्षीय प्रदीप लुइटेल छन्। उनीहरुले लकडाउन सुरु भएपछि सेनिटाइजर लगायत सामाग्रीको अभाव भएको मौकामा नक्कली सामाग्री उत्पादन गर्ने धन्दा चलाएको खुलेको छ।
'पहिले अन्य व्यापार व्यवसाय गरेको पाइएको थियो। लकडाउनपछि बजारमा यस्ता सामाग्रीको माग बढेकाले चाँडो पैसा कमाउने आशले कारोबार गरेको देखियो,' महाशाखाका एसपी इश्वर कार्कीले भने।
मंगलवार अवैध उद्योग सिल गरेपछि यो कारोबारको सञ्जालबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरुले तीनबटा कोठा भाडामा लिएर केही केमिकल भारत र लोकल बजारबाट ल्याएर गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने गरेको खुलेको हो।
यसरी उत्पादन गरेका सामाग्रीमा उनीहरुले विभिन्न प्रख्यात ब्राण्डहरु डिफेन्स लुकअप, ब्रोदर ब्रुउक्स, रुबिया ह्यान्ड वास, बिई वन एडभान्स, जेमिनी ह्रान्ड वास, ग्लिसिरिन मेगेनटा र क्वे इन्क माइकल लगायतका स्टिकरहरु आफैंले छपाई गरी खाली बोतलहरुमा लेभलिङ गरेर महँगो मूल्यसमेत राखेर बजारमा बिक्री गर्न पठाउने गरेको एसपी कार्कीले बताए। 'ग्राहकलाई बस्तुको गुणस्तर देखाउन नाम चलेका कम्पनीको नक्कली स्टिकर समेत आफैँले बनाएको पाइयो,' एसपी कार्कीले भने।
साथै, विभिन्न ब्राण्डका स्याम्पु र फेस क्रिम लगायतका नक्कली कस्मेटिक सामानहरु समेत उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीले नियन्त्रणमा लिएका अब्दुलले यसअघि कस्मेटिकको व्यापार गर्दै आएका थिए। नक्कली सामाग्री उत्पादन गर्ने मुख्य योजनाकार उनी नै भएको खुल्न आएको छ।
'मुख्य योजनाकार उनी नै भएको देखिन्छ। स्यानिटाइजर उत्पादनको अनुसन्धान गर्दैगर्दा अन्य कस्मेटिक सामाग्रीको समेत कर्तुत खुलेको हो,' एसपी कार्कीले भने।
छापा मारेको ठाउँबाट विभिन्न साइजका प्लास्टिकका ग्यालेन तथा ड्रममा राखेको सेनिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३२ सय ९० लिटर, स्किमर्स लेखिएको तयारी सेनिटाइजर ५०० एमएलको ८ बोतल, तयारी सेनिटाइजर ५ लिटरको ग्यालेन २६ थान, १०० एमएलको प्लाष्टिकको बोतलमा राखेको तयारी सेनिटाइजर १९५ थान, रुबिया ह्यान्डवास लेखिएको १४० एमएलको बोतल १७२ थान, बीई वन एड्भान्स लेखिएको २५० एमएलको बोतल १३ थान र ब्रान्ड नखुलेको सानो बोतल ३० थान समेत प्रहरीले बरामद गरेको छ।
त्यहाँबाट ग्लिसिरिन, डिफेन्स लुक-अप, बिई-वन, जेमिनि समेत लेखिएका तयारी सेनिटाइजरमा टास्ने स्टिकरहरु १ झोला, मसी भएको १०० एमएलको बोतल ८ थान, ठण्डा अल्को सुपर लेखिएको १ लिटरको बोतल ५ थान, कलर प्रिन्टरसहितको डेस्कटप कम्प्युटर, सेतो रङको बट्टामा ५०० एमएल लेखिएको बट्टा ३० थान, केसमरी गुलाब रस १०० एमएल लेखिएको भरी बट्टा ८० थान, स्याम्पु ५०० एमएल लेखिएको १८ थान, विभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन ५ थान, ट्याग लगाउने मेसिन १ थान, विभिन्न छापहरु ६ थान, ६०० एमएल लेखिएको भरी बट्टा २३ थान, विभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरु रहेको कार्टुन ४ थान, सिल्भर पत्ता ६ थान र तौल गर्ने डिजिटल मेसिन १ थान समेत प्रहरीले बरामद गरेको छ।
एक ग्राहकले सामाग्री खरीद गरेर प्रयोग गर्दा गुणस्तरहीन भएको देखिएपछि प्रहरीमा उजुरी लिएर पुगेका थिए। त्यसपछि नक्कली धन्दाको राज बाहिरिएको हो।