
काठमाडौं: नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा नलाग्न सांसदहरुलाई चेतावनी दिएको छ।
एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै विप्लव समूहले सम्झौताको पक्षमा उभिने सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने धम्कीसमेत दिएको छ।
विप्लव समूह डोटीद्वारा बुधवार जारी विज्ञप्तिमा जनताको विरोधका बाबजुद एमसीसी पास गर्ने प्रयास भइरहेको भन्दै डोटेली जनताका तर्फबाट रोक्न भूमिका खेल्न डोटीका जनप्रतिनिधिलाई आग्रह गरिएको छ। डोटीबाट निर्वाचित प्रेम आलेमगर, भरत खड्का, त्रिलोचन भट्ट (मुख्यमन्त्री) र पूर्णा जोशीको नामै किटेर विप्लव समूहले एमसीसी पास गर्नतिर लागे जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ।