
काठमाडौं : बाँकेको जानकी गाउँपालिका २ स्थित जोगा गाउँपालिकाबाट फरार भएका कोरोना सङ्क्रमित बिरामी अझै फेला परेका छैनन्।
श्री माध्यमिक विद्यालय जोगा गाउँको आइसोलेसनमा बसेका नेपालगन्ज १२ कोयनपुरका ३५ वर्षीय पुरुष फरार भएका थिए।
'हामीले बसेको हुनसक्ने सबै सम्भावित ठाउँमा खोजी गरिरहेका छौँ। अहिलेसम्म भेटिएको छैन,' जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले भने।
सोमवार रातको समयमा चर्पी जाने भन्दै भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। भारतबाट आएका उनलाई क्वारेनटाइनमा राखिएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि भएको थियो। 'विद्यालयमा कुनै पर्खाल छैन। भाग्नेलाई सहज देखिन्छ। रातिको मौका छोपेर भागेको देखियो,' एसपी ओलीले भने।
सङ्क्रमित पुरुष भागेर भारत पुगेको प्रहरीलाई सूचना आएको छ। भागेका पुरुषले घर परिवारसँग भएको सम्पर्कको आधारमा उनी भारतमा भएको अनुमान प्रहरीले गरेको हो। प्रहरीले भारतीय प्रहरीसँग पनि सम्पर्क गरेर खोजी गरिरहेको छ। 'भारत गएको हुनसक्ने सम्भावना भएकाले भारतीय प्रहरीसँग सम्पर्क गरेका छौँ,' एसपी ओलीले भने।