PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आइपिएलमा भारतीय खेलाडीले रंगभेद गरेको दाबी गरेका समीलाई गेलको साथ, चर्चामा इशान्तको 'रंगभेदी' पोस्ट



पहिलोपोस्ट

आइपिएलमा भारतीय खेलाडीले रंगभेद गरेको दाबी गरेका समीलाई गेलको साथ, चर्चामा इशान्तको 'रंगभेदी' पोस्ट

अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई श्वेत प्रहरी अधिकारीले घुँडाले थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएसँगै रंगभेदबारे चर्चा फेरी एकपटक चुलिएको छ।

रंगभेदको यो बहसमा खेलकुद क्षेत्र पनि अछुतो छैन। फुटबल, क्रिकेट, बास्केटबल लगायतका विभिन्न खेलाडीहरुले आफूमाथि रंगभेद भएको खुलासा गर्दै आएका छन्। यसक्रममा फुटबलका चर्चित खेलाडीहरु मार्कस रास्फोर्ड, कान्टे, पाउल पोग्बा, मेस्युट ओजिल लगायतका खेलाडीहरुले खुलेरै आवाज उठाउँदै आएका छन्। त्यस्तै विभिन्न फुटबल क्लबहरुले पनि रंगभेद विरुद्ध ऐक्यबद्धता जनाउँदै आएका छन्।

क्रिकेटको कुरा गर्दा पछिल्लो समय वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले क्रिकेटमा पनि रंगभेद हुने गरेको दाबी गरेका थिए। त्यस्तै वेस्ट इन्डिजका पूर्व कप्तान डरेन समी क्रिकेटमा हुने रंगभेदलाई लिएर आक्रामक सुनिँदै आएका छन्।

फ्लोइडको भिडियो हेरेसँगै उनले आइसिसीलगायत क्रिकेट बोर्डहरुलाई यसविरुद्ध आवाज उठाउन आग्रह गरेका थिए।

'यो भिडियो हेरेपछि पनि यदि क्रिकेट क्षेत्र अश्वेतमाथि भइरहेको यो अन्यायका विरुद्ध बोल्दैन भने उसलाई पनि समस्याको हिस्साका रुपमा लिइने छ,' उनले लेखेका छन्, 'आइसिसी र अन्य क्रिकेट बोर्डहरु म जस्तो अश्वेतमाथि के भइरहेको छ देख्दैन?'

आइपिएलमा रंगभेद

समीले इन्स्टाग्राममा एउटा भिडियो हाल्दै आइपिएलमा आफूलाई रंगभेदी शब्दले बोलाइएको भनेर भर्खरै थाहा पाएको भन्दै यसले आफूलाई क्रोधित बनाएको दाबी गरेका छन्।

उनले पहिला आफूले उक्त शब्दको अर्थ 'बलियो' का रुपमा बुझेको बताएका थिए। उनले पछि मात्र 'कालु' शब्दको अर्थ बुझेको बताएका छन्। त्यो शब्दले आफुलाई बोलाउँदा अरु हाँसेको देखेर केही रमाइलो कुरा पो होकी भनेर पनि आफूलाई लागेको उनले इन्स्टाग्राममा राखेको भिडियोमा भनेका छन्। उनी त्यतिबेलाको विषयलाई उठाउँदै त्यो कुनै 'फनी' कुरा नभएको बताउँछन्। उनले ड्रेसिङरुममा पटकपटक आफूलाई त्यो शब्दले संबोधन गरेको बताएका छन्।

त्यस्तै त्यतिबेला उक्त शब्दको अर्थ नबुझे पनि अहिले त्यस्तो अर्थ बुझ्दा धेरै रिस उठेको बताएका छन्।

उनलाई आइपिएलको क्रममा आफूलाई उक्त रंगभेदी शब्दले बोलाएको स्मरण गर्दै उनले त्यसप्रति प्रति आपत्ति जनाएका छन्।

'जब मलाइ यो शब्दको अर्थ थाहा भयो, त्यतिबेला मलाई धेरै रिस उठेको थियो।' उनले भनेका छन्, 'मलाई याद छ जब म सनराइजर्स हैदराबादको लागि खेलिरहेको थिएँ त्यतिबेला मलाई ठीक त्यही शब्दले बोलाइन्थ्यो जुन अश्वेतहरुलाई अपमानित गर्नका लागि प्रयोग गरिन्छ।'

उनले आफूलाई त्यसरी रंगभेदी शब्दले सम्बोधन गर्नेहरुलाई सम्पर्कमा आउन आह्वान समेत गरेका छन्।

'जसले मलाई त्यो शब्दले बोलाउँथ्यो। उनीहरुलाई त आफ्नो बारे थाहा नै छ। कसैसँग मेरो नम्बर होला। कसैलाई मलाई इन्स्टाग्राम या ट्वीटरमा फलो गरेको होला। मलाइ सम्पर्क गर्नुहोला,' उनले भने, 'कुराकानी गरौं।'

उनले कुनै पनि मानिसमाथिको विभेद स्वीकार्य नभएको भन्दै त्यो शब्द किन प्रयोग गरियो स्पस्ट पार्न आह्वान गरेका छन्।

'यदि होच्याउने हिसाबले त्यो शब्द प्रयोग गरिएको हो भने म धेरै दुखी छु। र म अझै रिसाएको छु र तिमीहरुले माफी माग्नु पर्छ।'

समीको उक्त पोस्टमा समर्थन जनाउँदै क्रिस गेलले अधिकारका लागि लड्न ढिला नभएको प्रतिकृया दिएका छन्।

'अधिकारका लागि लड्न कहिल्यै ढिला हुँदैन जुन पछिल्लो समय हामीले भोगेर आएका छौं।' गेलले प्रतिकृया दिएका छन्।

 

इसान्त शर्माको भाइरल पोस्ट
आइपिएलमा रंगभेद भएको भन्ने समीको प्रतिकृयासँगै भारतीय क्रिकेटर इशान्त शर्माको एउटा इन्स्टाग्राम पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा शर्मासँगै समीलगायताका खेलाडीहरु देखिन्छन्।

फोटोको क्याप्सनमा शर्माले लेखेका छन: 'मी, भुवि, कालु एण्ड सनराइजर्स'

यो पोस्ट सन् २०१४ को हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell