
काठमाडौं: तरुण दलले जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई तत्काल पदबाट निलम्बन गर्न माग गरेको छ।
अध्यक्ष जितजङ्ग बस्नेतद्वारा बुधवार जारी विज्ञप्तिमा गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन भन्ने र विवादास्पद अभिव्यक्ति दिएर नेपाली सेनालाई विवादमा ल्याउने काम गरेको भन्दै तत्काल पदमुक्त गर्न माग गरिएको हो।
संविधान संशोधन प्रक्रिया चलिरहेको बेला सांसद गिरीले उक्त भूमि नेपालको नभएको भन्नु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको विज्ञप्तिमा उल्लेख छ। दलले यस्ता अभिव्यक्ति सच्याउन चेतावनीसमेत दिएको छ।
राष्ट्रियताको विषयमा तीन करोड नेपालीलाई चोट पर्ने गरी बोलेकोमा गिरीलाई संसद पदबाट निलम्बन गर्नेदेखि हँदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्ने बेला सरकार र सभामुख मौन बस्नु असैह्य हुने विज्ञप्तिमा भनिएको छ।
गिरीलाई राष्ट्रघाती सांसद भन्दै तरुण दलले भनेको छ, ‘यस्ता अराष्ट्रिय तत्वहरुलाई तत्काल पदमुक्त गरी कारबाहीको लागि जोड्दार माग गर्दछौं।’