
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार आगामी वर्षको बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए। प्रतिनिधिसभा बैठकमा सुरुवातमा विनम्रताका साथ प्रस्तुत भएका ओली सांसदहरूको प्रश्नपछि भने आक्रोशित देखिए।
नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा करिब २० मिनेटपछि स्वास्थ्य असुविधा भएको भन्दै बस्ने व्यवस्था मिलाउन आग्रह गरेका प्रधानमन्त्री ओलीलाई आज सुरुवातमै बस्ने व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री ओलीले संसद्मा आज साढे दुई घण्टा खर्चिए।
प्रधानमन्त्री ओलीले जब बोल्छन् तब उनको बोलीको चर्चा र आलोचना दुवै हुन्छ। प्रतिपक्षी र मिडियाप्रति आक्रोशित हुने गरेका ओलीले आफ्नो बोलीमा केही सुधार गरेका हुन कि भन्ने आभास आजको सम्बोधनमा देखियो। तर उक्त आभास भएको केही मिनेट बित्न नपाउँदै ओलीले फेरि आलोचना गर्ने वातावरण सिर्जना गरे।
प्रधानमन्त्री जस्तो गरिमामय भूमिकामा रहेका ओलीले कोरोना भाइरसको बारेमा तथ्यहीन कुरा गर्दै आइरहेको आरोप लाग्ने गरेको छ। आज पनि त्यस्तै केही तथ्यहीन कुरा दोहोर्याए। सामाजिक सञ्जालमा उनले सम्बोधन गर्नेको क्रममा प्रयोग गरेका शब्दहरूमाथि संसद्मा नै सांसदहरूले प्रश्न उठाएका थिए।
कोरोनाबाट मान्छे मरेका होइनन्
कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। मृत्यु भएका अधिकांशको पीसीआर परीक्षण मृत्युपछिमात्रै गरिएको थियो। त्यसपछिमात्रै उनीहरूमा कोरोना भए निर्क्योल गरिएको थियो। केहीको त रिपोर्ट नआई दाहसंस्कार गरिएको थियो।
तर, प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट मृत्यु नभएको दाबी गर्दै आएका छन्। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण मात्रै कोरोनाको कारण उनीहरूको मृत्यु भएको मान्नुपर्ने बताउँदै आएका छन्।
उनले भने '१५ जनाको निधन भएको छ। त्यो कोरोनाकै कारणले मात्र होइन। कतिपय अरू कारणले अत्यन्तै सिकिस्त भएका व्यक्तिमा कोरोना सरेको अथवा बाँच्ने स्थिति नरहेका व्यक्तिहरूमा कोरोना सरेको हो। पहिले उपचाररत रहँदा कोरोना फेला नपरेको र निधनपछि कोरोना संक्रमित फेला परेको खालको स्थिति हो।'
प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि सांसदहरूले गल्ती ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले अन्य रोगले मृत्यु भएको भनेको भन्दै आक्रोशित भए। जवाफमा प्रधानमन्त्री ओलीले डाक्टरहरूले भने अनुसार नै आफूले बोलेको बताए। भारतबाट आएका ८५ प्रतिशतमा संक्रमण भएको ओलीको तर्क छ। तर, अहिलेसम्म कुनै तथ्याङ्क भने कतै पाइएको छैन।
नेपालीको प्रतिरोधात्मक क्षमता बलियो
प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी पनि गर्दै आइरहेका छन्। वैज्ञानिकहरूले प्रतिरोधात्मक क्षमता बलियो भएको भन्ने कुरामा चुनौती दिए मात्र स्वीकार गर्ने बताउँदै उनले आफ्नै तर्क पेस गरेका हुन्। हुन त ओलीले तातो पानी खाएर फ्याटीय तत्त्व घटाउन ध्यान दिन आग्रह समेत गर्दै आएका छन्।
'नेपालीहरुमा प्रतिरोधात्मक क्षमता धेरै राम्रो छ। अरू देशको तुलनामा मृत्यु हुनेको सङ्ख्या पनि सानो हुनेछ। मृत्यु नहोस् भन्ने कुरामा ध्यान दिएका छौँ। उपचारको प्रबन्ध पनि राम्रो छ,' ओलीले भनेका थिए।
प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो भन्दै प्रश्न गरे।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, 'भर्खरै सुन्नु भो नि मैले भनेको। यो त मैले भन्या। नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ता काहीँबाट आयो भने मैले स्वीकार गरौँला।'
ओलीले नेपाली खानामा बेसार, नुन, जिरा, अदुवा लगायतका औषधिजन्य समेटिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गरेका थिए। उनले सधैंजसो जडिबुटीहरुको प्रयोग गर्दै जानुपर्छ भन्ने कुरा गर्न छुटाएनन्।
प्रधानमन्त्री ओलीले अनियमितता भएको विषयमा सांसदहरूलाई प्रमाणका आधारमा बोल्न सुझाएका ओलीले आफूले भने आफूले सो कुरा बिर्सिए।
उनको यस कुरालाई धेरैले ठट्टाका रूपमा व्याख्या गरेका छन्।
सेना व्यापारी कसरी भयो?
सेनालाई जिटुजी माध्यमबाट स्वास्थ्य सामाग्री खरिद गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। ओम्नी ग्रुपमाथि अनियमितताको आरोपपछि टेन्डर रद्द गरेर सेनालाई सामाग्री किन्ने जिम्मा दिने निर्णय गरिएको हो।
तर प्रधानमन्त्री ओलीले सेनाको आवश्यकताका लागि मात्रै स्वास्थ्य सामाग्री ल्याएको दाबी गरेका छन्। ओलीले सेनाले आफ्ना लागि बिस्कुट खरिद गर्दा व्यापारी नभएको तर औषधि खरिद गर्दा कसरी भयो भन्ने तर्क गर्न भ्याए।
'यसअघि सेनाले प्लेन पनि किनेको छ। हतियार पनि किनेको छ। हेलिकप्टर अरू सामाग्री पनि किनेको छ। बुट, कपडा किनेको होला, बिस्कुट किनेको होला। त्यति बेला व्यापारी भएन। अहिले सेना भरसक आफू उत्पादन गर्ने कुरामा लागिरहेको छ। त्यसो गर्दा व्यावसायिक भयो,' उनको तर्क।
उनले सेना राज्यको अप्ठ्यारोमा राज्यको सबै अङ्ग परिचालन गरिएको बताउँदै सेनालाई नेपाल सरकारको भन्दा बाहिर जस्तो गरी नबुझ्न आग्रह गरे।