PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एसईई परीक्षा नलिने सरकारको निर्णयः व्यवसाय चलाउन सरकार लचक, निजी सवारीमा आलोपालो प्रणाली



पहिलोपोस्ट

एसईई परीक्षा नलिने सरकारको निर्णयः व्यवसाय चलाउन सरकार लचक, निजी सवारीमा आलोपालो प्रणाली

काठमाडौँः कोरोनाका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय सरकारले गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट स्तरवृद्धि गर्नेगरि परीक्षा नलिने निर्णय गरेको हो। कक्षा ११ को अन्तिम परीक्षाका विषयमा छलफल भए पनि निर्णय भएन ।  

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा एसईई नगर्ने निर्णय भएको हो। अब आन्तरिक मूल्याङ्कनका आधारमा स्तरवृद्धि गरिनेछ। स्तरवृद्धिको सिफारिसलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नेगरी परीक्षा नलिने निर्णय भएको निर्णय सरकारले गरेको एक मन्त्रीले जानकारी दिए। 

निजी विद्यालयका संगठनहरुले आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह गरिरहेका थिए। 

'एसईई नहुने र परीक्षा बोर्डले मापदण्ड बनाएर आन्तरिक मूल्याङ्कन प्रमाणित गर्ने निर्णय भयो। १२ कक्षाको हकमा परीक्षा लिन सक्ने समय अझै भएको तर ११ को कठिन बन्दै गएकोमा पनि समीक्षा भयो। के गर्ने निर्णय भइसकेको छैन तर ११ को हकमा सोचनीय छ', एक मन्त्रीले भने।

यस्तै, बैठकले सबैखाले सुरक्षा विधि अपनाएर सबै प्रकारका व्यवसाय चरणबद्ध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। यसबारे सबै खाका तयार भइसकेको छैन। व्यवसाय सञ्चालनमा सैद्धान्तिक सहमति भए पनि विस्तृत खाका बिहीबारमात्र सार्वजनिक हुने ती मन्त्रीले बताए। 

कोरोना संक्रमितको अवस्था हेरेर फरक-फरक मापदण्डका आधारमा व्यवसाय सञ्चालन हुनेछ। लकडाउनको स्वरुप फेरिए पनि अवधि अझै केही समय जारी रहने उनको भनाई छ।

सवारी साधान सञ्चालनमा आलोपालो व्यवस्था मिलाउने पनि निर्णय भएको छ । यस्तै, विदेशमा रहेका नेपाली उद्दारका लागि आन्तरिक वायुसेवा कम्पनीलाई प्राथमिकतामा राख्नेगरीबारे पनि बैठकमा छलफल भएको छ। जस अनुसार कार्य योजना बनिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell