सोमवार साँझ फोटो पत्रकार साथी अनिल आङ्देम्बेले फोन गरे र भने – 'भोलि बिहान के काम छ समर्थ? खाली छौ भने आन्दोलन खिच्न जाऔं। शान्तिपूर्ण हो, राम्रो फोटो बन्छ।'
लकडाउनको समयमा आन्दोलन?
मैले सोध्नु अघि नै उनले प्रष्ट पारे – आन्दोलनकारी शारीरिक दूरी कायम गरेर बस्छन्। शत् प्रतिशत पीसीआर टेस्टको माग राख्छन्।
विषय रोचक लाग्यो। नभन्दै इन्स्टाग्राम, फेसबुकतिर मंगलवार हुने भनिएको आन्दोलनको चर्चा चलिसकेको रहेछ।
मंगलवार बिहान ९ बजे नै घरबाट निस्किएँ। बालुवाटार पुगेँ। पत्रकार, फोटो पत्रकार साथीहरु जम्मा भइसकेका रहेछन्। पहिलोपोस्टका साथीहरु प्रवीण रानाभाट, रोजन श्रेष्ठ र अमित मचामसी त्यहीँ थियौं। आन्दोलनकारीहरु नदेखिएकाले हामीले योजना बनाउन भ्यायौं – को कताबाट खट्ने? कसरी खिच्ने? अनि कसरी सुरक्षित रहने।
साथी प्रवीणले सधैंजस्तै सबैलाई सम्झायो – 'शान्तिपूर्ण भएकाले आन्दोलनको जोखिम छैन। कोरोनाबाट चाहिँ बचौं है साथीहरु। कसैको पनि धेरै नजिक नजाऔं।'
वरपर प्रहरी तैनाथ थिए। बिस्तारै एकएक गर्दै मानिसहरु देखिन थाले। उनीहरुका हातमा विभिन्न नारा अंकित प्लेकार्ड थिए। सबै दूरी कायम गर्दै आ-आफ्नो ठाउँमा उभिए। मानिस बढ्दै जाँदा खटिएका डीएसपीले निर्देशन दिए - बाटोको एक भाग खाली छाडिदिनुस् है। गाडी पास गराउनु पर्छ।
निर्देशन अनुसारै सडकको एक भागमा लामवद्ध भए मानिसहरु। मलाई लागेको थियो – सुरुमा देखिएकै मानिस सम्पूर्ण आन्दोलनकारी हुन्। तर, १० बजेपछि मानिस थपिने क्रम सुरु भयो। केही बेरमै सय, दुई सय, तीन सय… मानिस आइ नै रहे, विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर।
धर्नाको कार्यक्रम १० देखि १२ बजेसम्मका लागि तय थियो। योजना अनुरुप करिब साढे एक घण्टासम्म सबै शान्तिपूर्ण बसे। शारीरिक, भौतिक दूरी कायम गर्दै। गीत गाए : गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ... ।
सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नउठाएको भन्दै प्रतीकात्मक विरोध गरिरहे उनीहरुले। यी दृश्यहरु रोचक थिए। कोही धर्ना बसेकै ठाउँमा पुस-अप गर्दै थिए। कोही एउटाले लगाएको नारामा आवाज मिसाउँदै थिए। सबै उस्तै उर्जासहित प्रस्तुत भएका थिए। मनोरञ्जन क्षेत्रदेखि सामाजिक सञ्जालका सेलिब्रेटीहरुको पनि सहभागिता थियो। सबैले मास्क लगाएकाले धेरैलाई चिन्न गाह्रो भयो।
अभिनेत्री आना शर्मा, स्याडोज ब्यान्डका गायत स्वप्निल शर्मा लगायतसँग भने फोटो खिच्ने अनुमति लिएँ। खिचेँ पनि।
सयौंको भिड जम्मा हुँदा पनि आन्दोलन संयमित थियो। यसअघि थुप्रै आन्दोलन खिचिसकेका थियौं। तर, यति शान्तिपूर्ण भिड देखेका थिएनौं।
धर्ना सुरु भएको करिव डेढ घण्टापछि नेपाल प्रहरीको दंगा नियन्त्रणको टोली आइपुग्यो। तोकिएको समयसीमा अनुसार धर्ना सकिन आधा घण्टा बाँकी थियो। ठीक त्यही बेला प्रहरीले निर्देशन दियो – 'तपाईंहरुले लकडाउन उलङ्घन गर्नुभयो। यहाँबाट हटिदिनुस्।'
आन्दोलनकारीको अडान उही – '१२ बजेसम्म बस्छौं। समय सकिएपछि हट्छौं।'
त्यसपछि भएको नाराबाजी रमाइलो थियो। आन्दोलनकारीहरुले भन्ने थाले :
पुलिस हाम्रो मामा हो, भान्जालाई हान्न हुँदैन…
पुलिस हाम्रो साथी हो, साथीलाई हान्नु हुँदैन…
तर, हामीलाई रमाइलो लागेको नाराले प्रहरीलाई किन आकर्षित गर्थ्यो र? उनीहरु 'एक्सन'मा उत्रिए। निर्देशन दिएको २५ मिनेट पछि पत्रकारहरुलाई ठाउँ छाड्न भनियो र पानीको फोहोराले आन्दोलनकारीलाई प्रहार गर्न थालियो। हेर्दाहेर्दै शान्तिपूर्ण आन्दोलनमा भागदौड सुरु भयो।
हामी एकछेउमा बसेर फोटो खिचि नै रहेका थियौं। म पनि साथीहरुसँगको योजना अनुरुप 'सट' लिँदै थिएँ। अचनाक कसैले पछाडिबाट जोडले धकेल्यो। म करिब ४ मिटर पर पुगेर पछारिएँ। पछारिएपछि थाहा पाएँ – मलाई पानीको फोहोराले हानिएको रहेछ। त्यसपछिको दुखाई र हडबडाहटले मलाई केही सोच्नै नसक्ने बनायो। उठ्न खोजेँ। सकिँन। घुँडा र औंला चल्न नसके झै महसुस भयो। भुईंमा टेकेको हात सडकको गिट्टीमा परेकाले दर्फर्याएको रहेछ, खुब दुख्यो। तर, अझै पानी परिरहेको थाहा पाएपछि भने जबरजस्ती उठ्ने प्रयास गरिन। किनकि मलाई क्यामेराको माया थियो। क्यामेरा जोगाउन शरीर थापिरहेँ।
कुप्रो परेर घुँडा टेकी नै रहेको थिएँ। कोही मेरो पछाडि आयो र सोध्यो – दाइ तपाईँ ठीक त हुनुन्छ?
टाउको घुमाएर हेरेँ। भ्लगर 'झोले' रहेछन्। मैले उसलाई आफू ठीक भएको संकेत दिएँ। मेरो ध्यान पूर्णरुपमा क्यामेरामा थियो। क्यामेराको टगल निस्किएछ। क्यामेराभित्र पानी परेको कुरा ठम्याउन पनि समय लागेन। मन खिन्न भयो।
फोटो पत्रकार सुजन गुरुङले आएर उठाउँदा पो आफ्नो शरीरको दुखाई महसुस भयो। मेरो त पाइन्ट च्यातिएको रहेछ। घुँडामा घाउ पनि। खुट्टाका औंला पनि खुब दुखेको थाहा भयो। अन्य साथीहरु आन्दोलन खिच्न व्यस्त थिए। सुजनले नै मलाई मेडिकल खोज्दै कुदाए। हामी वागबजार पुग्यौं।
त्यहाँका स्वास्थ्यकर्मीले चोट लाग्नुको कारण सोधे। मैले घटनाको बेलिबिस्तार लगाए। त्यसपछि उनले बोलेका शब्द निकै घत पर्यो। भनेका थिए – 'पत्रकार भएपछि यस्तो त कति सहनु पर्छपर्छ। चोट, क्षति त सहनु पर्छ नै यति गर्दागर्दै पनि आम मानिसको बचन पनि सहनु पर्छ।'
यति भनिसक्दा उनी मज्जैले हाँसेको थिए।
उनले मलाई गरेको औषधी, उपचारको पैसा लिन मानेनन्। कुरा गर्दै जाँदा थाहा भयो – उनी पहिले पत्रकारिता पढाउने मानिस रहेछन्। त्यसैले पत्रकारितमा रुची र पत्रकारहरुसँग विशेष लगाव राख्दा रहेछन्।
संयोग नै मान्नु पर्छ, हामी बालुवाटारबाट बागबजार पुग्यौं। उनकै मेडिकलमा जसले आन्दोलन खिच्न खटिएको पत्रकार भएकै कारण मेरो ड्रेसिङको पैसा लिएनन्। एकछिन अघिसम्म निकै दुखेको शरीर हल्का महसुस भयो। चोट कम दुख्यो। पक्कै पनि औषधीले काम गरेको हुनुपर्छ। अझ बढी राहत परिचय खुलाउन नचाहने ती मेडिकलकर्मीले दिए।
त्यहाँबाट निस्किएपछि क्यामेराको चिन्ता चुलियो। न्यूरोडस्थित क्यामेरा बनाउने पसलमा पुग्दा थाहा भयो – क्यामेरामा देखिए र सोचेभन्दा बढी क्षति भएको रहेछ।
फोटो पत्रकारका लागि क्यामेरा के हो? भन्ने बुझेको साथी सुजन सँगै थिए। उसैले थुम्थुमाए – 'धेरै टेन्सन नलिउँ यार। धन्य मान तिमीलाई केही भएन। क्यामेरा त किन्न मिल्छ, ज्यान किन्न मिल्दैन।'
मैले चिन्ता नगर्ने कोसिस गरेको हुँ। तर, सकिन। केहीबेरमा फोटो पत्रकार साथीहरुले एकपछि अर्को गर्दै फोन गरे। सान्त्वना दिए। स्वास्थ्यस्थितिबारे सोधे। फोटो जर्नालिस्ट क्लबका दाइ दिदीहरुले फोन गरे। मानसिक राहत मिल्यो।
क्यामेरा त्यहीँ छाडेर निस्किँदै गर्दा मन भारी भएको थियो। तर, फेरि ती आन्दोलनकारीहरु सम्झिएँ जो धेरैथोक छाडेर सडकमा उत्रिएका थिए। उनीहरुले झन् के के भोगे होलान्? मलाई फोहोराले लाग्नु अघि नै केही मानिस घाइते भएका थिए। केहीलाई प्रहरीले लछारपछार गर्दै थिए, लाठी हान्दै थिए। मैले आफ्नोभन्दा बढी चिन्ताजनक स्थिति सम्झिएर पीडा भुलाउने प्रयास गरे।
मनमा प्रश्न भने उठिरह्यो – शान्तिपूर्ण धर्नालाई प्रहरीले किन बिथोलेको होला? पानीको फोहोरा किन अनावश्यक ठाउँमा प्रयोग गरिएको होला?
केही समय यता सक्रिय रहेर फोटो पत्रकारिता गरेर विकास भएको मेरो बुझाइले भन्छ – नागरिक तहबाट सरकारलाई घच्घच्याउन भएको शान्तिपूर्ण प्रयासमा फोहोरा प्रयोग गर्न आवश्यक थिएन। खैर, उक्त आन्दोलन निदाएको सरकार ब्यूझाउने आवाजमात्र बनेर सरकारले नागरिकको प्रश्नविरुद्ध कस्तो जवाफ दिन्छ प्रष्ट भयो।
चोट आफ्नो ठाउँमा छ। क्यामेरा मर्मत केन्द्रमा छ। ती आन्दोलनकारीहरु चाहिँ कहाँ होलान्? जो ज्यान जोखिममा राखेर आन्दोलनमा होमिएका थिए। उनीहरु प्लेकार्ड लिएर घाममा उभिनु रहर मात्र विषय होइन रहेछ। जसरी फोटो खिच्न निस्कनु मेरो रहरमात्र होइन। उनीहरु सडकमा उत्रनुले निकै ठूलो महत्व राख्ने रहेछ। जसरी हामीले संकलन गर्ने खबर र खिच्ने तस्विरले अर्थ राख्छ।