
काठमाडौं : जनस्तरबाट चर्को दवाव सुरु भएपछि लकडाउन घोषणा गरेको ७९ दिनपछि सरकारले मोडालिटी परिवर्तनको घोषणा गर्यो। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मानिसको भिड हुनेबाहेक अन्य व्यापार व्यवसाय, उद्योग धन्दा लगायत निजी सवारी साधनलाई चल्न दिने निर्णय गर्यो।
तर, कुन क्षेत्रमा कसरी संचान गर्ने? सवारी साधनलाई कसरी चलाउने भन्ने स्पष्ट खाका भने सरकारले सुनाइसकेको छैन। आज यस विषयमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले थप जानकारी दिने कार्यक्रमम रहेको छ।
काठमाडौं उपत्यकाभित्र अब घरबाट बाहिरै निस्कन नपाउने गरी जारी भएको लकडाउन खुला हुने भएको छ। आफ्नो निजी सवारी साधन लिएर सरकारले तोकेका क्षेत्रमा काम गर्न जान पाइने छ। तर, यसरी सवारी साधन लिएर सडकमा निस्किँदा जोर बिजोर प्रणाली भने लागू हुने बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
कोरोना संक्रमणको जोखिम कम भएका र संक्रमित कम भएका जिल्लामा लकडाउन खुकुलो बनाउन लागिएको हो। काठमाडौं उपत्यका यी दुवै मापदण्डभित्र समेटिन्छ। काठमाडौं उपत्यकाभित्र संक्रमितको सङख्या कम छ। त्यसो त मुलुकका पाँच जिल्लामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन।
काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनलाई जोरबिजोर गरेर चल्न दिए सर्वसाधारणले केही हलुको महसुस गर्नेछन्। नयाँ निर्देशिका सरकारले घोषणा गरेपछि सम्वन्धित निकायसँग समन्वय गरेर लागू हुनेछ। आजको दिनसम्म पहिलेकै नियम लागू छ।
'आज त पहिलेकै झैं चेक गरिरहेका छौं। हामीले पनि नयाँ मोडालिटीमा जाने भन्ने सुनेका हौं। बाँकी आज जानकारी आएपछि थाहा हुन्छ,' महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
सरकारले निर्णय सार्वजनिक गरिनसकेकाले आज बिहानदेखि नै प्रहरीले सडकमा पासबाहेक गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर राखेको छ।
काठमाडौं उपत्यकाभित्र करिब १२ लाख सवारी साधन दर्ता छन्। ट्राफिक प्रहरीका अनुसार यसमध्ये झन्डै दैनिक १० लाख सवारी उपत्यकाभित्र गुड्ने गरेको छ। त्यसमा ८० प्रतिशत त मोटरसाइकलमात्रै छ। बाँकी चार पाङ्ग्रे र सार्वजनिक सवारीका साधनहरु हुन्।
सरकारले पहिलो चरणमा निजी सवारी साधनलाई मात्र जोर र बिजोरका आधारमा संचालन गर्ने गरेको छ। सार्वजनिक सवारी, ट्याक्सीलाई रोक लगाउने भएको हो। तर, यसरी चलेका साधनमा कति मानिस राख्न पाइने भन्ने अहिलेसम्म खुलेको छ।