
कोभिड १९ को संक्रमण बढिरहेको छ र अर्कोतर्फ रोकिएका खेलकुदहरु विस्तारै सुरु हुँदै गएका छन्। पछिल्लो समय कोरोना संक्रमण सँगै रोकिएका प्रतियोगिता सञ्चालन गर्ने होड चलेको छ।
युरोपियन शीर्ष लिगहरु मध्ये जर्मन बुन्डेसलिगा सञ्चालन हुने पहिलो लिग बन्यो। त्यस्तै आज रातिबाट स्पेनिस ला लिगा सुरु हुँदैछ। तीन महिना पछि सुरु हुन लागेको लिगको पहिलो खेलमा आज सेभिया र रियल बेटिस आमनेसामने हुनेछन्।
तर यो खेल पहिलाको ला लिगा जस्तो भने हुने छैन। बन्द रंगशाला। स्वास्थ्य सम्बन्धी कडा नियमहरु। समग्रमा फेरिएको फुटबल। जसको स्वरुप बुन्डेसलिगामा देखिइसकेको छ। कोरोना चलिरहँदा खेलमा फर्कन ला लिगाका क्लबहरुले विभिन्न चरणहरु पार गरेका थिए।
अंकतालिकामा शीर्ष स्थानका लागि ला लिगमा ठूलो प्रतिस्पर्धा देखिन्छ। अंकतालिकाको शीर्षस्थानमा २७ खेल खेलेको बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ। जारी सिजन बार्सिलोनाले १८ जित ४ बराबरी र ५ हार ब्यहोरेको छ। अर्को तर्फ समान २७ खेल नै खेलेको रियल मड्रिडले १६ जित ८ बराबरी र तीन पराजय भोग्दै ५६ अंक जोडेको छ। शीर्ष २ मा रहेका बार्सिलोना र रियल मड्रिडबीच २ अंकको फरक छ। तेस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ।
आज राति हुने खेलमा जित निकालेको खण्डमा सेभियाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदुरी घटाउने छ। त्यस्तै बेटिसले जित निकालेको खण्डमा ११औं स्थानमा उक्लने छ।
खेल आज राति पौने २ बजे सुरु हुनेछ।