PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लिपुलेक विवादमा भारतको कमजोरी भन्दै पूर्व भारतीय राजदूत सुदले भने : यसमा चीनको हात छैन



पहिलोपोस्ट

लिपुलेक विवादमा भारतको कमजोरी भन्दै पूर्व भारतीय राजदूत सुदले भने : यसमा चीनको हात छैन

काठमाडौं : नेपाल भारतबीच जारी लिपुलेक, कालापानी र सीमा विवादमा चीनको कुनै भूमिका नरहेको नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुदले बताएका छन्।

बीबीसी हिन्दीसँगको कुराकानीमा सुदले यस्तो बताएका हुन्।

'मलाई लाग्दैन यस विवादमा चीनको कुनै हात छ। किनकि नेपाल भारतबीचको सीमा विवादको विषयमा चीनले नेपाललाई कहिल्यै साथ दिएको छैन्,' उनले भनेका छन्, 'चीनले लिपुलेक भारतको मान्दै आएको छ। २०१५ मा प्रधानमन्त्री चीन जाँदा होस् या चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भारत आउँदा होस्, लिपुलेकलाई भारतकै मानेर सम्झौता भएको छ।'

नेपालले लिपुलेक लिम्पियाधुरा र कालापानीलाई समावेश गरी नक्सा जारी गरेसँगै भारतीय मिडिया तथा राजनीतिक नेतृत्वले समेत चीनको इसारामा नक्सा जरी गरेको बताएका थिए। भारतका सेनाप्रमुखले पनि नेपालले 'कसैको' इसारामा नक्सा जारी गरेको भन्दै चीन तर्फ संकेत गरेका थिए।

उनले यस विषयलाई समाधान गर्नका लागि अधिकारीस्तरमा नभइ राजनीतिक स्तरमा वार्ता हुनुपर्ने समेत बताए।

उनले पछिल्लो पटक देखिएको सीमा विवादमा भारतको गल्ती भएको समेत टिप्पणी गरे। भारतले पछिल्लो समय उच्चस्तरीय छलफलमा सहभागी हुन नसकिरहेको अवस्थामा कालापानी लिपुलेकमा सडक बनाएर थप विवाद बढेको संकेत उनले गरे।

'यो विवादमा भारतको केही कमजोरी भएको छ। दुई देशबीच हुने भनेको सचिवस्तरीय वार्ता हुन सकिरहेको थिएन। राजदूत रिटार्ड भएर नयाँ जाँदा केही महिना लाग्यो। विदेश सचिव पनि रिटार्यड भएर नयाँ आए। यस्तोमा कोरोना भाइरसको महामारी आयो,' उनले भनेका छन्, 'यस्तोमा नेपालमा भारतले वार्ता टारिरहेको शंका उब्जियो। रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेसँगै शंका यकिनमा बदलियो।'

उनले सडक उद्घाटनपूर्व अहिलेको अवस्थामा सामान्य रुपमा वार्ता सम्भव नभए पनि टेलिफोन वा भिडियो कन्सफ्रेन्स मार्फत् छलफल हुनुपर्नेमा नभएको भन्दै भारतको गल्तीलाई संकेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell