PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण नगर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा नहाल्न काङ्ग्रेस नेता शेखरको सुझाव



अनन्तराज न्यौपाने

कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण नगर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा नहाल्न काङ्ग्रेस नेता शेखरको सुझाव

विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा नेपाल सरकारले यसलाई अन्तर्राष्ट्रियकरण नगरी वार्ताबाट समाधान गर्नुपर्ने विचार व्यक्त गरेका छन्।

नेता कोइरालाले नेपाल सरकार र नेपाली जनता उत्तेजित र आक्रोशित नभई यो विषयलाई वार्ताद्वारा टुङ्ग्याउन आग्रह गरे। उनले यसलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बेला नभएको र अहिले लान नहुने धारणा प्रकट गरे।

‘त्यो नेपालकै भूभाग भएको कुरामा दुई मत छैन, म पनि भन्छु त्यो नेपालकै क्षेत्र हो’, काङ्ग्रेस नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘राजा महेन्द्रले २०१७ सालमा बिपीलाई जेल हालेपछि २०१८ सालमा कालापानीमा भारतीय सेनालाई बस्न दिएका रहेछन्। यसको लिखित डकुमेन्ट छैन, तर महेन्द्रका पालमा भारतीय सेना बसेको हो, महेन्द्रले बस्न दिएका हुन्। यसको समाधान वार्ताबाटै खोजिनुपर्छ।’

उनले अहिले विश्वबन्धु थापा लगायतका केही पूर्व पञ्चहरू महेन्द्रले कालापानीमा भारतीय सेना बस्न दिएको लिखित डकुमेन्ट नभएको भनेर महेन्द्रलाई क्लिन चिट दिन खोजिरहेको आरोप लगाए।

उनले पूर्व पञ्चले महेन्द्रलाई जति चोख्याउने प्रयास गरे पनि कालापानीमा भारतीय सेना महेन्द्रकै शासन कालमा बसेको तथ्य घाम जत्तिकै छर्लङ्ग रहेको बताए। 

उनले ६५ वर्षयता भारत र चिन बिच कालापानी–लिपुलेक क्षेत्रका विषयमा ४ वटा सम्झौता भइसकेको दस्ताबेज भेटिएको उल्लेख गरे।

दुवै मुलुकले चारै पटक त्यस ठाउँमा धार्मिक पर्यटन र व्यापारको बाटो खोल्ने भन्ने विषयमा सम्झौता गरेको उनले स्पष्ट पारे।

उनले यस विषयमा चिन सरकार अहिलेसम्म मौन रहेको टिप्पणी गरे।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा अहिले खर्चको हिसाब माग्ने बेला होइन भनेर दिएको उत्तरप्रति आपत्ति प्रकट गरे।

‘सुशासन, पारदर्शिता र जबाफदेहिता भएन भने देश अर्कै बाटो जान्छ’, उनले भने, ‘तर हाम्रा प्रधानमन्त्रीजी आफू भ्रष्टाचार गर्दै जाने अनि हिसाब माग्ने बेला होइन भन्दै पन्छिँदै गर्नुहुन्छ। अहिले अनियमितता बढेको छ। सेनाले खरिद गरेको स्वास्थ्य सामग्री महँगो भएको पुष्टि भइसकेको छ। कोरोना भाइरसका कारण यो सरकार अझ भ्रष्ट र अधिनायकवादको बाटोमा बढेको छ । यसले देशको राजनीतिलाई अर्कै मोडतिर लाने खतरा देखिएको छ।’

कोइरालाले यति बेलै अख्तियार र न्यायपालिका पनि रहस्यमय ढङ्गमा चुप रहेको बताउँदै सरकार भ्रष्टाचारको दलदलमा उम्कन नसक्ने गरी भास्सिएको विचार प्रकट गरे।

नेता कोइरालाले एमसीसीको हिस्सा आइपिए हो कि होइन भनेर विश्लेषण र ठहर गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले सरकारले संसद्मा एमसीसीको एजेन्डा ल्याउने हो भने नेपाली काङ्ग्रेसका सांसद त्यसलाई मत हालेर पारित गराउन तयार भएको जानकारी दिए।

स्वर्गीय आचार्यद्वारा स्थापित कृष्णप्रसाद कोइराला सेवा गुठीको आयोजनामा कार्यक्रम भएको थियो। कार्यक्रममा गुठीका अध्यक्ष मिता आचार्यले स्वर्गीय शैलजाको व्यक्तित्व र योगदानका बारेमा प्रकाश पारिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell