काठमाडौं: अहिले सामाजिक सञ्जालमा 'इनफ इज इनफ' नाम दिइएको समूह सक्रिय छ। सरकारले कोरोना भाइरसको रोकथामका लागि उचित पहल गर्न नसकेको भन्दै उनीहरु सरकारविरुद्ध आन्दोलनमा होमिएका हुन्।
विशेषगरी सरकारले कोरोना परीक्षणमा पीसीआर विधिलाई शतप्रतिशत लागू र आरडीटी बन्द गर्नुपर्ने विषयमा जोड दिएका छन्। साथै क्वारेन्टाइन व्यवस्थित गर्दै लकडाउनलाई सहज गर्नुपर्ने उनीहरुको माग छ।
मंगलबार उक्त समूहको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। त्यसक्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै युवाहरुको समूहले बुधबार देशभरका विभिन्न स्थानमा विरोध गर्न सडकमा ओर्लिएका थिए।
असंगठित रुपमा सुरु भएको आन्दोलनमा सयौँ युवा स्वतः सहभागी हुँदै आएका छन्। बिहीबार सयौँको संख्यामा युवा नक्सालमा भेला भए। सरकारविरुद्ध नारा लगाउँदै उनीहरुले कोरोना महामारीबीच 'एक्टिभ' बन्न र कमजोरी सुधार्न माग गरेका थिए।
हातहातमा प्लेकार्ड बोकी प्रदर्शनस्थल पुगेका युवा र प्रहरीबीच आज धेरैपटक झडपको स्थिति बन्यो। प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन अश्रु ग्यासको प्रयोग गर्नुका साथै पानीको फोहोरा प्रहार गर्यो। त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनका क्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो।
फोटोः प्रवीण रानाभाट/अमित मचामसी