PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

गण्डकीमा कोरोना संक्रमणको अवस्था : बागलुङ बढी प्रभावित, प्रदेशमा संक्रमितको संख्या १४७



रासस

गण्डकीमा कोरोना संक्रमणको अवस्था : बागलुङ बढी प्रभावित, प्रदेशमा संक्रमितको संख्या १४७

बागलुङ : गत चैत १५ गते बागलुङमा पुष्टि भएको कोरोना भाइरस संक्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो। बेल्जियमबाट फर्किएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भयो।

उनीहरु चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ विमानबाट सँगै नेपाल फर्केका थिए। अहिले भने कोरोनालाई जितेर दुवै सामान्य जीवनमा फर्किसकेका छन्। दोस्रो संक्रमण पुष्टि भएयता ५५ दिनसम्म जिल्लामा कोरोना देखिएन। ५६ औँ दिनमा आएर गत १४ गते तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई युवकमा कोरोना पुष्टि भयो। भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका बेला उनीहरुमा संक्रमण देखियो।

त्यसयता जिल्लामा लगातारजसो संक्रमित थपिन थाले। २२ गते १०, २४ गते एक, २५ गते १० र २७ गते ११ जनामा कोरोना पुष्टि भयो। हालै भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षण थालिएसँगै संक्रमित बढे। हालसम्म संक्रमितको संख्या ४० पुगेको छ। जुन गण्डकी प्रदेशकै सबैभन्दा उच्च हो। प्रदेशका कुल १४७ संक्रमितमध्ये स्याङ्जामा ३८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३७, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा तीन र लमजुङमा एक छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीको मुस्ताङ र मनाङमा अहिलेसम्म संक्रमित भेटिएका छैनन्। कोरोना देखिएका नौ जिल्लामध्ये बागलुङ बढी प्रभावित बन्न पुगेको छ। स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार भारतबाट आएका एक हजार ६०० बढी स्थानीय तहका क्वारेन्टाइनमा छन्। तीमध्ये ५०० जतिको स्वाब परीक्षणका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि रिपोर्ट आएको छैन। स्वाबको चाप प्रयोगशालाको न्यून क्षमताका कारण रिपोर्ट ढिलो आउँछ।

यसअघि क्वारेन्टाइनमै रहेका करिब ४०० जनाको पीसीआर विधिबाटै कोरोना परीक्षण गरिएको प्रमुख गुरौले बताए। गत दुई सातायता पुष्टि भएका संक्रमित तिनैमध्येका हुन्।

‘क्वारेन्टाइनको बसाइ पूरा गरेका कतिपयलाई आरडीटी गरेर भए पनि घर पठाइएको छ,’ उनले भने।

भारतबाट आउनेको संख्या दैनिक बढ्दो छ। त्योसँगै संक्रमण अझै बढ्न सक्ने आँकलन गरिएको छ। तेस्रो मुलुकबाट समेत जिल्ला फर्कने क्रम शुरु भएकाले क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ। जिल्ला कमाण्ड पोस्टले विदेशबाट आउनेको सम्भावित संख्या यकिन गर्न सकेको छैन। बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा अहिले २५० छन्। तीमध्ये २०० को स्वाब लिइए पनि कोरोना परीक्षणको रिपोर्ट आएको छैन। अन्यको स्वाब लिनै बाँकी छ।

‘दैनिक पाँच/सात जना भारतबाट आइरहनुभएको छ’, गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘कोरोना परीक्षण जटिल बन्दै गएको छ।’

अध्यक्ष पाइजाका अनुसार बडिगाडबाट भारतमा रोजगारी गर्न जानेको संख्या चार हजारभन्दा बढी छ। तेस्रो मुलुक पुग्नेको संख्या अझ धेरै छ। बडिगाडमा जिल्लाकै सबैभन्दा बढी १५ संक्रमित भेटिएका छन्। जसमध्ये १९ र २० वर्षका दुई युवक बुधवार कोरोनामुक्त बनेर घर फर्किसकेका छन्।

उनीहरुसँगै तमानखोलाका २७ वर्षीय दुई युवक पनि धवलागिरि अस्पतालबाट ‘डिस्चार्च’ भएका थिए। योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको संख्या छ पुगेको छ भने बाँकी ३४ जनामा सक्रिय संक्रमण छ। संक्रमित थपिन थालेपछि क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनमा जिल्ला कमाण्ड पोस्ट र स्थानीय तह जुटेका छन्। सदरमुकामस्थित धवलागिरि अस्पतालमा श्यया अपुग भएपछि संक्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रिआइसोलेसन’ राखिएको छ।

निसीखोला गाउँपालिकाका तीन र ढोरपाटन नगरपालिकाका एक संक्रमित भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन्। केही दिनअघि जिल्ला कमाण्ड पोस्टले क्याम्पससहित बुर्तिवाङ, गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो।

बुर्तिबाङको आइसोलेसनकक्षमा पुरुषका लागि २० र महिलाका लागि पाँच शय्या छुट्याइएको छ। बडिगाडलगायतका स्थानीय तहले आइसोलेसनकक्ष निर्माणमा अग्रसरता देखाएका छन्।

‘हामीलाई बजेट र जनशक्ति दिए गाउँपालिकामै आइसोलेसन तयार गरेर संक्रमितको उपचार गर्न तयार छौँ,’ बडिगाडका अध्यक्ष पाइजाले भने।

तत्काललाई बडिगाड, तमानखोला, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका संक्रमितलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य छ स्थानीय तहका संक्रमितलाई धवलागिरि अस्पताल र क्याम्पसको ‘प्रिआइसोलेसन’ कक्षमा राख्ने निर्णय गरिएको छ।

गलकोट र कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छिट्टै आइसोलेसनकक्ष तयार हुने जिल्ला कमाण्ड पोस्टले जनाएको छ। हाल धवलागिरि अस्पतालको आइसोलेसनमा १३, बुर्तिवाङमा चार र बाँकी सबै धवलागिरि क्याम्पसको ‘प्रिआइसोलेसन’मा छन्।

आइसोलेसनमा रहेका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए। कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको उनको भनाइ छ। संक्रमित सबै चिकित्सकीय निगरानीमा छन्। नियमित स्वास्थ्य जाँच भइरहेको छ। पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र संक्रमितलाई घर पठाउने गरिएको छ। अबदेखि लक्षण नदेखिए आइसोलेसनमा बसेको १४ दिनपछि बिनापरीक्षण डिस्चार्ज गर्न मिल्ने गरी नयाँ निर्देशिका आएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell