PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

लक्षण नदेखिएको भन्दै परीक्षणबिनै डोटीका पहिलो संक्रमितलाई १५ औँ दिनमा पठाइयो घर



एम बम

लक्षण नदेखिएको भन्दै परीक्षणबिनै डोटीका पहिलो संक्रमितलाई १५ औँ दिनमा पठाइयो घर
फोटो : जिल्ला अस्पताल डोटी।

कैलाली : डोटीका पहिलो कोरोना भाइरस संक्रमित युवकलाई थप परीक्षण नगरी १५ औँ दिनमा घर पठाइएको छ। शिखर नगरपालिका–३ का २५ वर्षीय युवामा जेठ १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको एक पटक पनि परीक्षण नगरी स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घर पठाइएको हो।

उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखी ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएकोमा छोरा र श्रीमतीको नतिजा नेगेटिभ देखिँदा उनमा संक्रमण पुष्टि भएको थियो। छोरा श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ।

बिहीवार उनमा पनि कुनै लक्षण नदेखिएकोले ‘आइसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’ को बुँदा नम्बर २.३ (क) अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘१५ दिन अगाडिको थ्रोट स्वाब संकलनमा नतिजा पोजेटिभ देखिएपनि त्यसयता कुनै लक्षण देखिएन’, अस्पतालका कोभिड–१९ फोकल पर्शन उत्तम उपाध्यायले भने, ‘त्यसपछि उनको कुनै लक्षण नदेखिएपछि निर्देशिकाको व्यवस्थाबमोजिम डिस्चार्ज गरेका छौँ।’

उनको थप पीसीआर परिक्षण भने नभएको उनले बताए।

‘एक हप्ता होम आइसोलेसनमा बस्न भनेका छौँ,’ उनले भने।

अब डोटीका पाँच जना संक्रमित आइसोलेसनमा छन्। जममध्ये पूर्वीचौकी गाउँपालिका–७ का २५ र २३ वर्षीय संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा छन् भने सोही गाउँपालिका अन्य तीनजनालाई गाउँको क्वारेन्टाइनमै आइसोलेट गरिएको छ।

चार जना डोटीका संक्रमित कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell