
काठमाडौं : ८०औँ दिनपछि लकडाउनको स्वरुप बदल्ने निर्णय सरकारले गरेको छ। चरणवद्ध रुपमा जनजीवन सामान्य बनाउने प्रयास अन्तर्गत सरकारले तीन साताका लागि पुनरावलोकन समेत हुने शर्तमा लकडाउनको मोडालिटी फेरेको हो।
कोभिडको परिस्थिति विश्लेषण गरेर थप निर्णय गर्नेगरी केही निर्णय असार १ र केही तत्कालै लागू हुनेगरी सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार सरकारको निर्णय जानकारी गराउँदै भौतिक दूरी कायम राखेर उद्योग, व्यापार, सेवा क्षेत्रमा केही खुकुलो नीति लिइएको बताए।
कुन क्षेत्र खुले?
सरकारको निर्णय अनुसार अब एकल चालक रहनेगरी मोटरसाइकल तथा साइकल सञ्चालनमा आउनेछन्। सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुनेछन्। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछन् । सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा आउनेछन्।
व्यक्तिहरुको पैदल आवागमनलाई पनि खुला गरिएको छ। सरकारको निर्णय अनुसार अब बैंक तथा वित्तीय संस्था पूरै समय खुल्नेछन् ।
यस्तै, फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, सञ्चार तथा प्रसारण र हुलाकसम्बन्धी सेवा पूर्ण रुपमा सञ्चालनमा आउनेछन्।
रेस्टुरेन्टबाट हुने प्याकिङ सेवा अब खुल्नेछ। क्वारेन्टाइन बनाइएका बाहेक अन्य होटल भने सञ्चालनमा आउने छैनन्।
सरकारी कार्यालय, शिक्षण संस्था सञ्चालनमा आउनेछन्। सरकारी कार्यालय दुई सिफ्टमा चल्नेछन्। गैरसरकारी कार्यालय पनि दुई सिफ्टमा नै चल्नेछन्। शिक्षण संस्थाका कार्यालय पठनपाठन बाहेक खुला हुनेछन्। यस्तै, निजी क्षेत्रका कार्यालय पनि दुई सिफ्टमा सञ्चालनमा आउनेछन्।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी पनि दुई सिफ्टमा सञ्चालनमा आउनेछन्। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्मको समय तोकिएको छ।
सरकारले जोर बिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ। चालकबाहेक अन्य दुई जना बोक्न पाइनेछ। निजी सवारीको हकमा यो नियम शुक्रबारदेखि नै लागू हुनेछ। नर्सरी लगायतका व्यवसाय सञ्चालनमा आउनेछन्।
यस्तै, निजी सेवा प्रदायक कार्यालयका सवारी साधन पनि चालकबाहेक अन्य दुई जनासम्म राखेर सञ्चालन गर्न पाइनेछ।
पूर्वाधारका सबै आयोजना निर्वाध सञ्चालन हुनेछन्। निर्माण सामाग्री उत्खनन्, संकलन ढुवानी लगायतका सबै काम खुला भएका छन्।
सञ्चालित व्यवसायका कामदार ल्याउने पुर्याउने प्रयोजनका लागि पनि तोकिएको शर्त पूरा गरेर सवारी साधन सञ्चालन गर्न पाइनेछ।
यी हुनेछन् बन्द
सरकारको निर्णय अनुसार शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र सञ्चालनमा आउने छैनन्। अनुमतिप्राप्त बाहेक आन्तरिक तथा बाह्य हवाइ उडान बन्द हुनेछन्।
अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुनेछन्। यस्तै, सभा, सम्मेलन, गोष्ठी तथा तालिममा रोक यथावत रहेको छ। प्रदर्शन तथा भेला पनि रोक नै लाग्नेछ। सिनेमा घर, पार्टी प्यालेस पनि बन्द रहनेछन्। सबै प्रकारका मनोरञ्जन र खेलस्थल बन्द रहनेछन्। निर्णय अनुसार सपिङ मल पनि सञ्चालन हुने छैनन्। सार्वजनिक पुस्तकालय, चिडियाखाना पनि बन्द रहनेछन्।
सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल र यात्रुवहाक सार्वजनिक सवारी साधन बन्द हुनेछन्। यस्तै, सैलुन, स्पाः सपिङ मल पनि बन्द नै रहनेछन्।
पूरा निर्णय पढ्नुस्