PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिए युवा



राधेश्याम पटेल

वीरगंजमा सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिए युवा

वीरगंज : वीरगंजमा संघीय सरकारको विरोधमा बिहीवार प्रदर्शन भएको छ। प्रदर्शनमा सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा असफल भएको नारा लगाउँदै विरोध गरिएको हो।

सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दबाब दिन वीरगंजका युवा सडकमा उत्रेका हुन्। वीरगंजको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि प्रहरीको बाक्लो उपस्थिति थियो।

युवालाई घण्टाघरमा जम्मा हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीले अवरोध गरेको थियो। प्रदर्शनकारीहरु सडकमै बसेर केही बेर विरोधका नारा लगाएका थिए।

‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पीसीआर’, ‘करेक्ट द क्वारेन्टाइन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट एन्सर’, ‘सरकार खै १० अर्बको हिसाब खै?’, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए।

८० दिनसम्म लकडाउन हुँदा पनि तीव्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि सरकारको चौतर्फी विरोध शुरु भएको छ। वीरगंजका स्वतन्त्र युवाको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढीको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell