PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

१४ दिने क्वारेन्टाइन बसाइँपछि बैतडीमा पाँच हजार व्यक्ति फर्के घर



रासस

१४ दिने क्वारेन्टाइन बसाइँपछि बैतडीमा पाँच हजार व्यक्ति फर्के घर
प्रतीकात्मक तस्बिर।

बैतडी : भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टाइनमा बसिसकेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टाइनमा बसिसकेका हुन्।

सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टाइनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। हाल क्वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए। उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ। क्वारेन्टाइनको १४ दिन बसाइँपछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन्।

यसैबीच, जिल्लामा हालसम्म छ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा छ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसमध्ये आरडीटी गरिएका मध्ये पाँच हजार ८५५ जनाको नेगेटिभ र ५२९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ। जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा छ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन्। बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टाइनमा राख्न शुरु गरिएको थियो।

भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको छ। १४ दिनको क्वारेन्टाइन बसाइँपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ।

पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ। नमुना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell