PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रशिक्षक खोज्दै क्यान: को आउँदै छ नेपाली टिमको प्रशिक्षक बनेर?



मुकुन्द घिमिरे

प्रशिक्षक खोज्दै क्यान: को आउँदै छ नेपाली टिमको प्रशिक्षक बनेर?

काठमाडौं : अघिल्लो वर्ष माघ २२ गते नेपाल, ओमन र अमेरिकाबीच लिग २ अन्तर्गतको खेल तय थियो। नेपाली टिमका लागि घरेलु मैदानमा पहिलो ओडिआई सिरिजको। 

तर, त्यसको २ दिन अघि चर्चा चल्यो प्रशिक्षक उमेशपटवालको राजीनामाको। नेपाल क्रिकेट संघ क्यानको निलम्वन फुकुवा नहुँदै नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा आएका पटवालले सिरिज सकिएपछि लागू हुनेगरीको राजीनामा दिए। त्यसको पछि करको विषय भएको बताइए पनि उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए।

त्यसयता क्यान खोजीमा उत्रियो नेपाली टिमका लागि एक उपयुक्त प्रशिक्षकको। यसैबीच नेपालले एउटा सिरिज पनि खेलेको थियो। जसमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाएका थिए। 

त्यसयता कोरोनाको महामारी चल्यो। लकडाउन गरियो। खेलाडीको प्रशिक्षण पनि रोकियो।

यता क्यानलाई प्रशिक्षक खोज्न समय मिलेको छ। प्रशिक्षकका लागि क्यानले बहस अघि बढाइरहेको छ।  नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो बढ्दै गएको छ। 

नयाँ प्रशिक्षक ल्याउने प्रकृया कहाँ पुग्यो?
नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेल लकडाउन अघिबाटै नयाँ कोच ल्याउनका लागि प्रकृया अघि बढाइए पनि पछिल्ला घटना क्रमले अझै कसलाई ल्याउने भन्ने विषयमा निर्क्रोल हुन नसकिरहेको बताउँछन्।

'यो लकडाउन भन्दा अघिदेखि कै कुरा हो। त्यतिबेला तत्कालिन कोच गएपछि हामीले नयाँ कोच ल्याउन भन्ने कुरा हामीले सुरु गरेको हो,' उनले भने, 'त्यसको लागि मान्छे तय भइसकेको थिएन। हामीले व्यक्ति एजेन्ट देशहरुसँग चाहिँ को हुनसक्छ भनेर खोज्ने सिलसिलामा केही प्रशिक्षकहरुसँग कुराकानी गरेका हौं।'

क्यानका अध्यक्ष चतुरबाहादुर चन्द लकडाउन अघि भारत गएर बीसीसीआईका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए। यसमा विदेशी प्रशिक्षक नै ल्याउन तयारीमा रहेको नेपालमा भारतकै प्रशिक्षक भित्रिने सम्भावना यसले अझ मजबुत बनाएको छ। 

प्राथमिकतामा लालचन्द राजपुत
पछिल्लो समय भारतीय पूर्व खेलाडी तथा प्रशिक्षक लालचन्द राजपुतलाई नेपाली टिमको प्रशिक्षकका रुपमा भित्र्याउन खोजिरहेको चर्चा चुलिएको छ। क्यानका सचिव प्याकुरेल राजपुतसँग यसविषयमा छलफल अघि बढेको भए पनि पर्याप्त छलफल नभएको बताउँछन्।
उनले विभिन्न एजेन्टहरुसँग छलफल अघि बढाएको पनि उल्लेख गरे। पछिल्लो समय लकडाउन र कोरोना भाइरसका कारण क्रिकेटको क्यालेन्डर नै प्रभावित भएको अवस्थामा अन्योलको अवस्था देखिएको बताए।

'अब त्यसैमा लकडाउन भएपछि चाहिँ उहाँहरुले राष्ट्रिय क्रिकेट क्यालेन्डर के हुने, उहाँहरु जुन क्लब वा देशसँग आबद्ध हुनुहुन्छ त्यसको स्थिति के हुने, उहाँहरुको इन्टरनेसनल कमिटमेन्टका कुराहरु के हुने? भन्ने टुंगो नलागी अगाडि के होला जस्तो देखिएको छैन,' क्यानका सचिव प्याकुरेलले भने, 'कुरा दुईतीन तिर भएको हो तर केही पनि अगाडि बढ्न सकिरहेको छैन अहिले।'

प्याकुरेलले राजपुतको विषयमा छलफल अघि बढाएको भए पनि आवश्यक छलफल भइनसकेका कारण राजपुतको 'टर्मस् एण्ड कन्डिसन' समेत बुझिनसकेकाले प्रशिक्षक उनी या अरु कोइ भित्रिनेमा अझै अन्योल रहेको बताए।

'अहिले तत्काल बाहिर लालचन्द राजपुतको नाम अगाडि आइरहेको छ। तर उहाँ जिम्बाबेको कोच गरिरहनु भएको थियो। उहाँको उता के हुने भन्ने पनि कुरा भएको थिएन,' उनले भने, 'अब एकदुई जना अरुको मान्छेहरुसँग कुरा भएको मात्र हो। अहिले मैले नाम लिनु एकदमै प्रिम्याचुर हुने छ।'

प्रशिक्षकको खोजीमा आइसिसीसँगसमेत समन्वय भइरहेको उनले बताए।

'उहाँहरुसँग राम्ररी कुराकानी नै भएको छैन,' उनले भने,'उहाँहरुको टर्मस कन्डिसन नै थाहा छैन। आइसिसीसँगको समन्वयमा उहाँहरुसँगै गर्नुपर्छ कि अरु कोही खोज्नु पर्छ थाहा छैन। त्यसैले अहिल्यै नाम लिन चाहीँ ठीक लाग्दैन मलाई।'

प्याकुरेलले थप स्पस्ट पार्दै भने, 'हामी २/४ जना मानिसहरुसँग समन्वयमा थियौं तर लकडाउनले गर्दा काम अघि बढ्न सकेको छैन।' 

यसरी हेर्दा प्रशिक्षक नियुक्ति गर्ने विषय कोरोनाको कहर र लकडाउनका बीच भइहाल्ला भन्ने खासै सम्भावना देखिँदैन। अहिलेको मनोविज्ञान कोरोनामै केन्द्रीत भइरहँदा क्रिकेटको अगाडिको कार्यदिशा के हुनेछ भन्ने पनि लगभग अनिश्चित छ। 

'सबैतिर अलि खुकुलो भएर क्रिकेट गतिबिधि सुरु हुने अवस्था भए सायद कुनै नाममा हामी जोडबल गर्छौं होला,' प्याकुरेलले भने।

विकल्पमा को? 

क्यानका कोषाध्यक्ष रोशन सिंह केही प्रशिक्षकहरुसँग बहस चलेको भए पनि पछिल्लो समय राजपुत नै उत्तम विकल्पका रुपमा देखिएको बताउँछन्। 

'राजपुतसँगै एकजना अस्ट्रेलियन प्रशिक्षकसँग पनि कुरा अघि बढेको थियो,' सिंहले विकल्पबारे भने, 'हाम्रो प्रयास चाहिँ राजपुतलाई ल्याउने भन्ने हो। हामीले कुराकानी चलाएका मध्ये सबैभन्दा उच्च श्रेणीका राजपुत नै देखिन्छन्।'

भाषादेखि लिएर अन्य विविध पक्षमा राजपुत नेपालको सन्दर्भमा उपयुक्त हुने देखिएको सिंहले बताए।  

‘तर आर्थिक विषयहरु अझै मिल्न बाँकी छ। उहाँले जति मागेको छ त्यति हामीबाट सम्भव छैन। तर व्यवाहारिक हिसाबले मिलाउने कुरा चाहिँ भइरहेको छ,’ सिंहले भने। 

उनले क्रिकेटमा पाइरहेको उपलब्धिलाई निरन्तरता दिन पनि उच्च श्रेणीकै प्रशिक्षक ल्याउन प्रयास भइरहेको जानकारी दिए। 

को हुन राजपुत?

राजपुत पूर्व भारतीय क्रिकेटर हुन्। अहिले उनी जिम्बावेको मुख्य प्रशिक्षकको भूमिकामा छन्। भारतीय राष्ट्रिय टिमका लागि सन् १९८५ देखि १९८७ सम्म उनले २ टेस्ट र ४ ओडिआई खेलेका थिए। दायाँ हाते ब्याट्यसम्यान उनले राष्ट्रिय स्तरमा फस्ट क्लास क्रिकेटमा राम्रो छाप छोडे पनि अन्तर्राष्ट्रिय स्तरमा खेलाडीका रुपमा गतिलो छाप छोड्न सकेनन्। 

भारतीय यू १९ टिमको प्रशिक्षण सम्हालिसकेका उनले भारतको राष्ट्रिय टिममा समेत म्यानेजरको भूमिका निभाइसकेका छन्। 

उनले आइपिएलमा मुम्बाई इन्डियनको प्रशिक्षण समेत सम्हालिसकेका छन्। यसबाहेक पनि उनले अफगानिस्तानको राष्ट्रिय टिम र जिम्बावेको टिमलाई प्रशिक्षण दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell