PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरकारले तोकेको भन्दा आधा सस्तोमा ओमनबाट आउँदै नेपाली, पीसीआर परीक्षण गराएर आउनेले सोझै होम क्वारेन्टाइनमा जान पाउने



पहिलोपोस्ट

सरकारले तोकेको भन्दा आधा सस्तोमा ओमनबाट आउँदै नेपाली, पीसीआर परीक्षण गराएर आउनेले सोझै होम क्वारेन्टाइनमा जान पाउने

काठमाडौं : सरकारले एकतर्फी रुपमा महंगो भाडादर निर्धारण गरेपछि ओमानस्थित नेपाली दूतावासले आफ्नै पहलमा छुट्टै विमान चार्टर्ड गरी नेपालीलाई स्वदेश फर्काउने तयारी थालेको छ।

नेपाल सरकारले ओमानबाट नेपालीलाई फिर्ता पठाउनका लागि ६२ हजार रुपैयाँ भाडा निर्धारण गरी लिष्ट तयार गरेको थियो। तर, ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेको भाडादरमा नभई आफैले ओमानकै विमान चार्टर गरी नेपालीलाई स्वदेश फर्काउन लागेको हो।

नेपाल वायु सेवा निगमको विमान पठाउने तयारीका साथ परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्रले दूतावासलाई पठाएको भाडादर नेपालीलाई महँगो हुने भएपछि दूतावासले त्यही विमानलाई चार्टर्ड गरी सरकारले तोकेको भन्दा झण्डै आधा खर्चमा नेपालीलाई नेपाल पठाउन लागेको हो।

जुन २१ गते ओमानबाट नेपाली लिएर सलाम एयर नेपाल आउँदै छ। त्यसका लागि ११५ ओमाली रियल ३६ हजार ४८७ रुपैयाँ (आजको विनिमय दर अनुसार) लाग्छ। सरकारले ५१० अमेरिकी डलर तोकेको थियो। जुन ओमानस्थित नेपाली दूतावासले तोकेको भाडादर भन्दा २११ डलर बढी हो।

दूतावासले सूचना जारी गर्दै प्राथमिकताका आधारमा नेपालीलाई नेपाल पठाउने भन्दै घर फिर्तीका लागि नाम टिपाएका नागरिकहरुलाई सम्पर्क गर्न भनेको छ। त्यसका लागि उनीहरुले सात दिन भित्रको कोभिड-१९ को नेगेटिभ परिक्षण रिपोर्ट पेस गर्नु पर्ने छ।

दूतावासले २१ वटा विभिन्न अस्पतालमा कोभिड-१९ को पीसीआर परीक्षण गर्न मिल्ने भन्दै तत्काल परीक्षणका लागि सम्पर्क गर्नसमेत ओमानमा रहेका नेपालीलाई आग्रह गरेको छ।

परीक्षण नेगेटिभ रिपोर्ट प्राप्त गरेका नागरिकले सलाम एअरको कलसेन्टरमा सम्पर्क गरी टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ।

दूतावासले दूतावासलाई सम्पर्क गरी निश्चित भएपश्चात मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ।

परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गएपछि सिधै घर (होम क्वारेन्टिनमा) जान पाइने समेत दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell