PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

तीन महिने शिशुमा कोरोना पोजेटिभ : संक्रमित उनीहरुलाई कहाँ राख्ने? पाइएन आइसोलेसन वार्ड, क्वारेन्टाइनमै बास



विधुर ढकाल

तीन महिने शिशुमा कोरोना पोजेटिभ : संक्रमित उनीहरुलाई कहाँ राख्ने? पाइएन आइसोलेसन वार्ड, क्वारेन्टाइनमै बास

काठमाडौं : रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा एक तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ।

भैरहवास्थित गहुँबाली प्रशिक्षण केन्द्रमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालमा कञ्चन गाउँपालिका ५ का तीन महिने शिशुसहित तीन जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये कञ्चन ५ कै ४० वर्षका पुरुष र २१ वर्षका युवक रहेका छन्।

कञ्चन गाउँपालिका वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार लुम्विनी ज्ञान निकेतन माविको क्वारेन्टाइनमा रहेका पाँच जनामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि आरटी-पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको थियो। त्यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो।

उनीहरुलाई गाउँपालिकाले भारतीय नाका सुनौलीबाट उद्धार गरेको थियो।

'हामीले उनीहरुलाई सुनौलीबाट उद्धार गरेर ल्याएका हौं। १४ दिन क्वारेन्टाइनमा राखेपछि आरडीटी परीक्षण गरेका थियौं,' अधिकारीले भने, 'आरडीटी परीक्षण गर्दा शिशुसहित आमा पनि एन्टीबडी पोजेटिभ देखियो। शिशु, शिशुकी आमा र बाबुसहित अन्य आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि पठाएका थियौं। शिशुसहित तीन जनामा पोजेटिभ रिपोर्ट आयो।'

शिशुकी आमाको रिपोर्ट भने नेगेटिभ आएको उनले जानकारी दिए।

आइसोलेसन वार्ड खाली भएन क्वारेन्टाइनमै संक्रमित

यसैबीच बिहीवार संक्रमण पुष्टि भएका तीन जना अहिले पनि त्यहीँकै क्वारेन्टाइनमै रहेका छन्। आइसोलेसन वार्ड उपलब्ध नभएका कारण उनीहरुलाई क्वारेन्टाइनमै राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए।

'संक्रमण पुष्टि भएसँगै हामीले बुटवल र सैनामैनामा आइसोलेसन सेन्टरमा पठाउने तयारी गरेका थियौं। त्यहाँ आइसोलेसन खाली रहेनछ,' उनले भने, 'हामी यस विषयमा बैठक बस्दै छौं। आइसोलेसन खाली नभएको अवस्थामा उनीहरुको स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखेर एकान्तवासको व्यवस्था र माथिल्लो स्वास्थ्य उपचारको व्यवस्था यतै गर्नेगरी निर्णय गरेर अगाडि बढ्ने तयारीमा छौं।'

उनले बुटवल र सैनामैनामा आइसोलेसन खाली नभएको जानकारी आएपछि उनीहरुलाई खाली नहुँदासम्म यतै व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

'आज तत्काल बैठक बसेर छलफल चलाउँदै छौं। एकान्तबास बनाउने माथिल्लो स्वास्थ्य उपचारको व्यवस्था मिलाउँछौं,' वडा अध्यक्ष अधिकारीले भने।

अहिले कञ्चन गाउँपालिकाका पाँचवटा वडामा १ सय ८० जना भारतबाट आएका नागरिकहरुलाई राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद गौतमले जानकारी दिए।

कञ्चन गाउँपालिका भित्र करिब २ सय जनाको आरडीटीबाट एन्टीबडी परीक्षण गरिएका मध्ये १८ जनाको पोजेटिभ आएको उनले जानकारी दिए। गाउँपालिकाबाट ९ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच जनाको पोजेटिभ आएको उनले जानकारी दिए।

'यसअघि दुई जनाको पोजेटिभ आएको थियो। हिजो (बिहीवार) थप तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ,' गौतमले भने। यसअघि संक्रमण पुष्टि भएकाहरु बुटवलस्थित आइसोलेसन सेन्टरमा रहेका छन्।

'हिजो संक्रमण पुष्टि भएका शिशु र उनकी आमालाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकामा छलफल चल्दै छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell