PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म मिथ्याङ्क देखाउँदै प्रोपागान्डामा



विधुर ढकाल

मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म मिथ्याङ्क देखाउँदै प्रोपागान्डामा

काठमाडौं : सामाजिक सञ्जालमा एउटा तथ्यांक भाइरल भइरहेको छ यतिखेर। विशेषगरी सरकारका उच्च पदस्थ अधिकारी, प्रधानमन्त्रीका सल्लाहकारदेखि प्रदेश ५ का मुख्यमन्त्रीले नेपालमा कोरोना भाइरसको परीक्षण एसियामा भुटानबाहेक अगाडि भन्दै जापान भारत थाइल्याण्डलाई उछिनेको भन्दै तथ्यांक दिइरहेका छन्।

तथ्यांकमा नेपालमा प्रति १० लाख नौ हजार ७ सय ४५ जनाको कोरोना परीक्षण भएको दाबी गरिएको छ।

के जिम्मेवार पदमा बसेका नेता तथा मुख्यमन्त्रीसम्मले भनेजस्तै हो त?

गुलाबी रङको डिजिटल पर्चा बनाएर सरकारका मानिसहरुले प्रस्तुत गरेको तथ्याङ्क हेर्नुस्।

यसैलाई सेयर गरेका छन् प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले। प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा पीसीआर परीक्षण किन कम गरियो भन्दै प्रश्न गर्ने कांग्रेस सांसद गगन थापासँग प्रतिनिधिसभामा पराजित नेकपाका नेता हुन् भट्टराई। उनले फेसबुकमा लेखेका छन् - कोभिड १९ को टेस्टिङमा नेपालको पोजिसन दक्षिण एसियाका अन्य मुलुकहरु र जापानभन्दा राम्रो।

CoVID -19 को TESTING मा नेपालको POSITION दक्षीण एसियाका अन्य मुलुकहरु र जापान भन्दा राम्रो।

Posted by Rajan Bhattarai on Thursday, June 11, 2020

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो स्टाटसमा आलोचना गर्नेलाई जवाफ दिँदै यही तथ्याङ्क 'बेचिरहेका' छन्। आखिर वास्तविकता के हो त?

नेपालको तथ्यांक हेरौं - नेपालको जनसंख्या तथ्यांक विभागले प्रस्तुत गरेको पछिल्लो अनुमान अनुसार दुई करोड ९५ लाख ६ हजार ३४५ रहेको छ।

नेपालमा कोरोना भाइरसको परीक्षण एक लाख १५ हजार ९ सय ३७ रहेको छ। स्वास्थ्य मन्त्रालयको बिहीवारको तथ्यांक हो यो। यस आधारमा हेर्ने हो भने नेपालमा कोरोना भाइरसको परीक्षण कूल जनसंख्याको प्रति १० लाख तीन हजार ९ सय ३० जनामा मात्र भएको देखिन्छ। यो परीक्षण कुल जनसंख्याको ०.३९ प्रतिशत मात्र हो।

प्रोपागान्डा फैलाउन तथ्यांक कसरी बढाइयो?

सामाजिक सञ्जालमा सेयर भएको तथ्यांकमा आरडीटी परीक्षणलाई जोड्दै प्रचार गरिएको प्रस्ट देखिन्छ। आरडीटी परीक्षणलाई कोरोना भाइरसको परीक्षणको रुपमा स्वास्थ्य मन्त्रालयले नै गरेको छैन। संक्रमण आरटी-पीसीआरले मात्र पुष्टि गर्ने भन्दै संक्रमितको संख्यामा यसलाई मात्र मन्त्रालयले जोडेको छ।

आरडीटी परीक्षण कोरोना भाइरसको परीक्षणका लागि नभई एन्टीबडी परीक्षणका लागि हो। स्वास्थ्य मन्त्रालयका अधिकारीदेखि चिकित्सकले नै आरडीटी परीक्षणको विरोधमा आवाज निकालिरहेका छन्। अझ सडकमा १०० प्रतिशत पीसीआर परीक्षणका लागि भन्दै प्रदर्शन भइरहेको छ। यसरी भइरहेको प्रदर्शनलाई एकातिर पन्छाउनका लागि नै सरकार पक्षधरहरु वर्ल्ड मिटरको तथ्यांकलाई हवाला दिँदै मिथ्याङ्क प्रस्तुत गरिरहेका छन्।

वर्ल्ड मिटरको तथ्यांक आफैँमा कति विश्वसनीय छ, प्रश्न छ। वर्ल्डमिटर तथ्यांकको विकिपेडिया जस्तै हो।

नेपालमा आरडीटीबाट एन्टीबडीको परीक्षण एक लाख ७८ हजार १४३ जनाको भएको छ। जुन प्रति १० लाख ६ हजार ३८ हो। ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्मले सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेको तथ्यांकमा कोरोना परीक्षण भन्दै आरडीटी परीक्षणलाई पनि जोडेर तथ्याङ्कको मेनुपुलेसन गरेका छन्। नेपालमा बिहीवारसम्म भएका पीसीआर र आरडीटी दुवै परीक्षणलाई जोडेर तथ्याङ्क तयार पारिएको छ भने अरु बाँकी मुलुकमा पीसीआर परीक्षणमात्र समावेश गरेर प्रस्ट रुपमा झुक्याउन खोजिएको छ।

अन्त कस्तो छ अवस्था?

भारतमा ५३ लाख ६३ हजार ४ सय ४५ जनाको कोरोना परीक्षण आरटी-पीसीआर पद्धतीबाट गरिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा एक लाख ५० हजार ३ सय ५ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

दैनिक डेढ लाखभन्दा बढीको पीसीआर परीक्षण गरिरहेको छ भारतले अहिले। जुन ६ सम्मको तथ्यांक हेर्ने हो भने पनि भारतमा प्रति १० लाख तीन हजार ८ सय ६६ जनाको परीक्षण भइसकेको छ। बिहीवारसम्मको यो तथ्यांक हेर्दा नेपालमा प्रति १० लाख जनसंख्या आरटी-पीसीआर परीक्षण भारतको भन्दा मात्र ६४ बढी छ। सामाजिक सञ्जालमा 'प्रोपोगान्डा'को रुपमा प्रचार गरिएको जस्तो ६ हजार बढी होइन्।

नेपालमा हाल दैनिक पाँच हजारको हाराहारीमा परीक्षण भइरहेको छ।

यसरी सार्वजनिक गरिएको तथ्यांकमा भुटानलाई समावेश गरिएको छैन। तथ्यांक हेर्ने हो भने भुटानमा कूल जनसंख्याको ०.८६५ प्रतिशतको कोरोना भाइरसको पीसीआर परीक्षण गरिएको छ। जनसंख्या सात लाख ७१ हजार ६०८ जनसंख्या रहेको भुटानमा ६ हजार ८१ जनाको आरटीपीसीआर परीक्षण भएको छ। यस आधारमा भुटानको परीक्षण संसारमै अब्बल देखिन्छ। तर उसको जनसंख्यालाई तुलना गर्ने हो भने नेपालसँग तुलना गर्न मिल्दैन। त्यसरी नै भारतको जनसंख्यासँग नेपालको तुलना हुन सक्दैन।

भारतलगायतका देशमा आरडीटी भन्दा पीसीआरलाई जोड दिइएको छ। त्यहाँ पीसीआर परीक्षणको दायरा दिनप्रतिदिन बढाउँदै लगेका छन्। नेपालमा पीसीआर परीक्षण गर्नुभन्दा आरडीटी परीक्षण गर्दै क्वारेन्टाइनबाट नागरिकलाई घर पठाइँदै छ।

त्यसैलाई लिएर चारैतर्फ सरकारको आलोचना भइरहँदा सरकारका मानिसहरु लाचारी छोप्नको मिथ्याङ्क प्रस्तुत गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell