PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्णालीमा कोरोना परीक्षण : जनशक्ति र सामान अभावमा क्षमता अनुसार भएन काम, पीसीआर मेसिन थप्दै प्रदेश सरकार



पी बी खड्का

कर्णालीमा कोरोना परीक्षण : जनशक्ति र सामान अभावमा क्षमता अनुसार भएन काम, पीसीआर मेसिन थप्दै प्रदेश सरकार

सुर्खेत : चैत महिनामा संघीय सरकारले कोरोना भाइरस भए/नभएको पत्ता लगाउन आरटी-पीसीआर मेसिन पठायो। मेसिनबाट दैनिक १२/१५ वटा नमुना मात्रै परीक्षण हुन थाल्यो। प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि उक्त मेसिनले थेग्न सकेन। अनि, कर्णालीका विभिन्न जिल्लाबाट संकलन गरिएका स्वाब पठाउन थालियो कन्द्रीय प्रयोगशाला काठमाडौं र सुदुरपश्चिमको धनगडीमा।

भारतलगायत तेस्रो मुलुकबाट भित्रिदा धनगडीको ल्याबलाई सुदूरपश्चिमकै स्वाब परीक्षण गर्न भ्याई नभ्याई हुन थाल्यो। केन्द्रीय प्रयोगशलामा पनि उस्तै।

संघीय सरकारले पठाएको कम क्षमताको आरटी-पीसीआर मेसिनले धान्न नसक्ने र बाहिर पठाउनुपर्ने अवस्था अन्त्य गर्न ठूलो क्षमताको पीसीआर मेसिन खरिद गरियो। त्रिभुवन विश्वविद्यालयबाट कर्णाली सरकारले ठूलो क्षमताको पीसीआर मेसिन खरिद गर्‍यो। सँगसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पनि एउटा पीसीआर मेसिन खरिद गर्‍यो।

अनि कर्णाली प्रदेशमा तीन वटा आरटी-पीसीआर मेसिन जडान गरी केही समय सञ्चालनमा आयो। अहिले ठूला क्षमता भनिएका दुई वटा मेसिन मात्रै सञ्चालनमा छन। कम क्षमताको पीसीआर मेसन सफ्टवयर बिग्रिएर थन्किएको छ भने सञ्चालनमा भएका मेसिनको क्षमता बढी भएपनि परीक्षणको संख्या भने कम छ। खरिद गरिएको दुवै मेसिनले दैनिक पाँच सयदेखि माथि परीक्षण गर्न सक्ने क्षमता छ। तर, यि दुवै मेसिनले दैनिक पाँच सयको हाराहारीमा मात्रै थ्रोट स्वाब परीक्षण गर्दै आएका छन्।

प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा राखिएको पीसीआर मेसिनले यसअघि एक पटकमा ९४-९६ वटा स्वाब प्रोसेसिङमा राख्न मिल्ने भनिएपनि अहिले एक पटकमा २२/२५ वटा मात्रै स्वाब प्रोसेसिङमा राखिन्छ। जुम्लाको प्रयोगशालाको अवस्था पनि उस्तै छ।

‘आइडियल सिचुएसनमा बायोसेफ्टी क्याभिनेटले पूरै काम गर्‍यो भने र स्वास्थ्यकर्मी पनि त्यही अनुसार भयो भने एक लटमा हुने हो’, प्रदेश अस्पताल–कोरोना विशेष अस्पतालका फोकल पर्सन डा केएन पौडेलले भने, ‘हाम्रो यहाँ अहिले २२ सम्म भइरहेको छ।’

उनका अनुसार मेसिनलाई आवश्यक पर्ने अन्य सामान उपलब्ध हुनुपर्छ।

‘बायोसेफ्टी क्याबिनेटलाई पनि परिस्कृत गर्नुपर्ने छ। साथै स्वास्थ्यकर्मी पनि थप चाहिन्छ’, उनले भने, ‘यि दुई चिज भयो भने क्षमता अनुसार मेसिन चलाउन सकिने देखिन्छ।’

अहिले प्रदेश अस्पतालमा दुई सयदेखि तीन सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको प्रयोगशालाको उनको भनाइ छ।

यता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पनि दैनिक तीन सय देखि साढे तीन सयसम्म नमुना परीक्षण गरेको प्रयोगशालाका ईन्चार्ज विवेक पुन मगरले जानकारी दिए।

उनले भने, ‘मेसिनको क्षमता अनुसार दिन रात गर्नसक्ने हो भने साढे ६ सयदेखि सात सय सम्म गर्न सकिन्छ। तर, अहिले त्यसरी गर्नलाई जनशक्ति अलि कम छ।’

मेसिनको क्षमता बढी भए पनि मेसिनलाई आवश्यक पर्ने अन्य सामान र जनशक्ति अभाव हुँदा परीक्षणको संख्या कम भएको चिकित्सकको भनाइ छ।

संघीय सरकारले पठाएको आरटी-पीसीआर मेसिनले दैनिक १२ देखि १५ वटा स्वाब मात्रै परीक्षण हुने गरेको थियो। अहिले त्यो मेसिन पनि बिग्रिएर त्यसै थन्किएको छ। दुई वटा मेसिन सञ्चालनमा भएपनि क्षमता अनुसारको परीक्षण गर्न नसक्दा अहिले हप्ता दिनअघि देखिका झण्डै एक हजार स्वाब ल्याबमा थन्किएका छन्।

जुम्लाको प्रयोगशालामा जुम्ला, मुगु, कालिकोट, डोल्पा र केही भाग दैलेख र हुम्लाको स्वाब संकलन हुने गरेको छ भने सुर्खेतस्थित प्रयोगशालामा सुर्खेत, सल्यान, हुम्ला र दैलेखको केही भाग र रुकुमपश्चिमको आउने गरेको छ। यद्यपि, रुकुम पश्चिम र सल्यानको केही स्वाब भने दाङ पठाउने गरिएको छ। प्रदेश सरकारले भने पीसीआर मेसिनको क्षमता अनुसार नै चलाएको गरेको दावी छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले मेसिनको क्षमता वृद्धि भन्दा पनि पीसीआर मेसिनको संख्या बढाउन जोड दिएको छ।

‘अहिले हामीले दुई वटै मेसिन पूर्ण क्षमतामा चलाईरहेका छौँ’, महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले भने, ‘मेसिनको क्षमता वृद्धि गर्ने कुरै भएन। बरु त्यो भन्दा पीसीआरनै थप गर्ने तयारी भइरहेको छ।’

उनका अनुसार दैलेखको लागि पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ। यस्तै, मेसिनकै लागि जाजरकोट, रुकुम पश्चिम, सल्यानबाट पनि माग आएकोले यसरी सवै स्थानमा मेसिन पुर्‍याउन सके परीक्षणको संख्या बढ्ने उनको भनाइ छ।

आवश्यक पीसीआर मेसिन थप्नका लागि संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell