PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेकपामा हराउँदै छलफलको परिपाटी : ओली बैठक टार्ने, प्रचण्ड मौन बस्ने, नेताहरुको गुनासो, 'हामी गुम्सिन लाग्यौँ'



कुञ्जरमणि भट्टराई

नेकपामा हराउँदै छलफलको परिपाटी : ओली बैठक टार्ने, प्रचण्ड मौन बस्ने, नेताहरुको गुनासो, 'हामी गुम्सिन लाग्यौँ'

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी समिति बैठकको माग भएको लामो समय भइसकेको छ। पार्टीको आन्तरिक विवाद चुलिएसँगै माग भएको बैठक अझै बस्न सकेको छैन। तय भइसकेपछि स्थगित भएको बैठक राख्न नेतृत्वले खासै चासोफ देखाएको छैन। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक टारिरहेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालले रहस्यमय मौनता साँधेका छन्। 

बैठक नबस्दा नेताहरुले भने कुरा राख्ने मञ्च नपाएर गुम्सिएको महसुस गर्न थालेका छन्। स्थायी कमिटी बैठकको माग गरेको लामो समयसम्म बैठक नराखिएपछि नेताहरुले यस्तो थालेको बताएका छन्।

'छलफल गर्नुपर्ने कुरा धेरै छन्। बैठक नै नराखिएपछि पार्टीभित्र छलफल गर्नुपर्ने कुरा हामीले कहाँ राख्ने? स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्' भित्रभित्रै गुम्सिएका छौँ। उकुसमुकुस भएको छ। अब त अत्ति भयो। यसरी कहिलेसम्म गुम्सने?'

स्थायी कमिटी बैठकको माग राख्नु र नेतृत्वले बैठक डाक्न आलटाल गर्नु अब नेकपामा नौलो विषय रहेन। तथापि सदस्यहरुले बैठकको माग राख्न छाडेका छैनन्। स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, हरिबोल गजुरेल पनि बैठक राख्नुपर्ने माग कायमै रहेको बताउँछन्। नेताहरुले बैठकका लागि सचिवालय सदस्यहरुलाई दबाब दिइरहेका छन्।

स्थायी कमिटी बैठकमा छलफलका लागि लकडाउनले जनतालाई पुर्‍याएको असर, विवादित एमसीसी, सरकारविरुद्ध उठेका आन्दोलनका विषयहरुमा पार्टीभित्र छलफल गर्नुपर्ने अवस्था रहेको शाक्य बताउँछिन्।

'लकडाउन केही खुकुलो त भयो। अझै जनताले सास्ती भोग्नुपरेको छ। यसलाई अझै कसरी व्यवस्थित बनाउने? यही विषयमा युवा सडकमा उत्रिन थालेका छन्। एमसीसी लामो समयदेखि विवादित छ। यसबारे छलफल हुनुपर्छ, बैठक त राख्नैपर्छ,' उनी भन्छिन्।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुको आवाज सुन्न छाडेर बल प्रयोग गरेकोमा समेत उनले आपत्ति प्रकट गरिन्।

नेकपामा बैठक नै नराख्ने नीतिमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेताहरु बताउँछन्। ओलीमा बैठक फेस गर्ने सामर्थ्य नरहेकाले नै बैठक नडाकेको नेताहरुको निश्कर्ष छ।

चौतर्फी रुपमा सरकारको विरोध भइरहेको बेला पार्टी भित्रबाटै पनि आवाज उठ्ने पक्का छ। ओलीमा आलोचना सुन्ने धैर्यता नरहेकाले पनि बैठक डाक्न नसकेको नेताहरु बताउँछन्।

'अध्यक्ष तथा प्रधानमन्त्रीलाई पार्टीको बैठक राख्नुपर्छ, छलफल गर्नुपर्छ भन्ने नै छैन। एक्लै अघि बढ्ने कसैको कुरै नसुन्ने प्रवृत्ति छ। संगठन भन्ने कुरामा त उहाँको ध्यान नै छैन, शाक्य भन्छिन्,' उहाँमा आलोचना सुन्ने धैर्यता नरहेकाले बैठक राख्नै चाहनुहुन्न।

२० जना स्थायी समिति सदस्यहरुले गत वैशाख १० गते विधान अनुसार बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र नै बुझाएका थिए। तर, दुई पटक बैठक बोलाइए पनि अहिलेसम्म पनि बैठक बस्न सकेको छैन। चर्को दबाबपछि ओलीले वैशाख २५ गतेका लागि बैठक बोलाएका थिए।

तर, त्यो बैठक २४ गते स्थगित भएको थियो। स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको बैठकको बीचैमा प्रधानमन्त्री उठेर हिँडेपछि बैठक स्थगित भएको थियो।

त्यसपछि वैशाख ३१ गतेका लागि बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो। अब बैठक कहिले बस्ने भन्ने टुंगो समेत छैन। नेकपाको विधानमा ३ महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने प्रावधान छ विधान अनुसार बैठक बस्न सकेका छैनन्। स्थायी कमिटीमात्र होइन, सचिवालय बैठकसमेत स्थगित हुँदै आएको छ।

नेकपामा झण्डै एक वर्षदेखि रुमल्लिँदै आएको एमसीसीको विषयमा छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो। त्यसयता अर्को बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन। एमसीसीका विषयमा सचिवालय बैठकमा अल्पमतमा पर्ने भएपछि बैठक डाक्न ओलीले आनाकानी गरेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell