PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

दोषारोपणको गोलचक्करमा यो रंगशाला



राधेश्याम पटेल

दोषारोपणको गोलचक्करमा यो रंगशाला

वीरगंज : अघिल्लो वर्ष फागुनमा वीरगंजस्थित नारायणी रंगशालामा कभर्डहलको शिलान्यास गर्दा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यो रंगशालाको इतिहासलाई ओझेलमा पर्न नदिने बताएका थिए।

मन्त्री विश्वकर्माले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदै गर्दा यस रंगशालालाई ५० लाख बजेट पनि छुट्याए। नारायणी रंगशालाको इतिहास, वर्तमान र सम्भावनालाई साइड लगाएर हेर्ने हो भने अरु स्थानमा खासै बजेट नपरिरहेको बेलामा यहाँ ५० लाख जाँदा ठीकठाक बजेट परेको हो भन्न सकिन्थ्यो।

तर, समाजवादी पार्टीका सांसद प्रदीप यादवले यसमा आपत्ती नै जनाए। उनले रंगशालाको अवस्था दिनप्रतिदिन खस्कँदै गएको बताउँदै यो बजेट पर्याप्त नहुने दाबी गरे।

‘युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशाला वीरगंजलाई ५० लाख रुपैयाँ छुट्याएको छ। गज्जबको कुरा लाग्छ मलाई ५० लाख। सुन्दा ठूलो रकम लाग्छ,’ यादवले भनेका थिए, ‘तर त्यो रंगशाला दशरथ रंगशाला जस्तो ठूलो रंगशाला हो। त्यहाँ स्थानीय जनताको लेबीबाट रंगशाला बनेको हो। तर त्यो रंगशाला कोमामा गइसकेको छ। र यो अवस्थामा ५० लाखमा केही हुन सक्दैन।’

यादवले केन्द्रले रंगशालामा बजेट दिन नसक्ने भए प्रदेश मातहतमा ल्याउन पनि चुनौती दिएका थिए।

‘कि मन्त्रीज्युले त्यो रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउन स्पेसल बजेटको व्यवस्था गरुन या यो संघको रंगशाला हुँदैन अब प्रदेशमा काट्नुहोस,’ उनले भने, ‘प्रदेश स्टेडियम बनाउन तयार छ। मुख्यमन्त्रीले भन्नुभएको छ संघ सरकारले छोडोस् हामी बनाउँछौं।’

यादवको जवाफमा मन्त्री विश्वकर्माले अहिले बजेट नै थोरै भएकाले तुलनात्मक रुपमा नारायणी रंगशाला प्राथिमकतामा परेको दाबी गरेका थिए।

'यो वर्ष पनि अरु योजनामा १० लाख विनियोजन भइरहँदा नारायणी रंगशालालाई ५०/५० लाख गरी १ करोड विनियोजन भएको छ,' मन्त्री विश्वकर्माले भने, 'प्रदेश नं २ को देशकै पुरानो रंगशालामध्येको भएका कारण मन्त्रालयले यो रंगशालालाई प्राथमिकतामा राखेको हो।'

+++

संसदमा नारायणी रंगशालाको बहस भएको सुन्दा लाग्छ निकै प्राथमिकता पाइरहेको छ यसले। तर, धरातलमा यसको अवस्था फरक छ। केन्द्रदेखि स्थानीय तहसम्मकै उदासिनताले यो रंगशाला भग्नावशेष बन्ने देखिन्छ।

२०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मत लागि केन्द्र सरकारबाट अगामी आवका लागि ५० लाख रुपैयाँमात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज आसापासका खेलप्रेमीहरु निराश बनेका छन्।

वीरगंज–१२ मुर्लीका कामेश्वर प्रसाद साहले तीन वटै सरकारको वेवास्ताका कारण वीरगंजको नारायणी रंगशाला र क्रिकेट मैदान पनि ओझेलमा पर्दै गएको गुनासो गरे।

'३३ वर्ष पुरानो फुटबल मैदान भग्नावशेष अवस्थामा पुगेको छ। सरकारले समयमा उचित मर्मत सम्भार नगर्दा समस्या भएको हो,' उनले भने।

१८ विगाहा क्षेत्रमा फैलिएको क्रिकेट र फुटबल मैदान जीर्ण बन्दै जाँदा वीरगंजमा खेलकुद गतिविधि र खेलप्रेमी निराश बन्नुको साथै राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बन्दै गएको क्रिकेटका प्रशिक्षक कन्हैया कुमार कायस्थ बताउँछन्।

अझ रंगशाला रहेकै क्षेत्रबाट निर्वाचित विजय सरावगी पालिकाका प्रमुख छन् भने लालबाबु राउत प्रदेश २ का मुख्यमन्त्री। त्यस्तै प्रदीय यादव प्रतिनिधिसभामा छन्। उनीहरुको गृह टोल समेत रहेको क्षेत्रप्रति जनप्रतिनिधिको उपेक्षा हुनाले रंगशालाले पुर्नजीवन पाउन नसकेको स्थानीय बासिन्दाको आरोप छ।

नारायणी रंगशालाको मर्मत सम्भारमा विगत केही वर्षदेखि सक्रिय रहेका पूर्व सभासद विचारी यादवले २०७० सालमा निर्वाचित हुँदा १५ लाख खर्च गरी अढाई अर्ब बजेट आवश्यक रहेको डिपीआर बनाएका थिए। तर, त्यसपछि गत वर्ष केन्द्र सरकारले प्रदेश सरकारसँग जनकपुरमा प्रादेशिक रंगशाला बनाउने नीति ल्याएर वीरगंजको रंगशाला ओझेलमा परेको यादवले बताए।

सरकारले प्रदेश २ मा रामजानकी खेलमैदानसँगै नारायणी रंगशालालाई विशेष प्राथमिकता दिएको बताए पनि खुइलिएको प्यारापिट, आधा दुबो, आधा माटो देखिने मैदान र सम्भावना बोकेर पनि बन्न नसकेको नारायणी रंगशालाले सरकारको 'प्राथमिकता' लाई कुरीकुरी भन्छ नै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell