काठमाडौं : कोरोना संक्रमण र लकडाउनको संकटसँग जुध्न विपन्न परिवारहरुका लागि स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा डेनमार्कको गैह्र सरकारी संस्था डीसीएले दुई चरणमा २ करोड १० लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।
हालसम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्ला गरी ४ हजार १ सय ३४ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरिएको डीसीएले जनाएको छ। २ हजार ८८ घर परिवारलाई थप स्वच्छता सामाग्री सेट हस्तान्तरण गरेको छ।
त्यस्तै, कन्चनपुर जिल्लामा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि छुट्टै पौष्टिक आहारहरु जस्तै घिउ, सुजी, अण्डा, बदाम, काजु जस्ता सामाग्री पनि सहयोग गरेको जनाएको छ।
त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा ३३ वटा क्वारेन्टाइन व्यवस्थापनका लागि बन्दोबस्तीका सामग्री, तथा स्वास्थ्य सरसफाइ सामाग्री पनि वितरण गरेको छ। साथै जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरी २७ वटा स्वास्थ्य केन्द्रहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ।