काठमाडौँः संविधान संशोधन विधेयकमाथि समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव अस्वीकृत गरेका छन्। मूल विधेयकमात्र पेस हुनेगरी कार्यसूची प्रकाशन भइसकेको छ।
संसद सचिवालय स्रोतका अनुसार सभामुखले संशोधन सूचना अस्वीकृत गरेरपछि कार्यसूची प्रकाशन भएको हो।
विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ।
गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छिन्। दफा २ मा मूल संविधानको धारा ९(२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।
गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी हुन्।
उक्त संशोधन स्वीकारयोग्य नभएको भन्दै सभामुखले प्रमाणित नगरेका हुन्। पूरै दफा खारेजीको माग भएको तर विकल्प समेत प्रस्तुत नभएको, संविधानको आधार सिद्धान्त विपरीत रहेको भन्दै संशोधन प्रमाणित नभएको हो।
संसदीय अभ्यास र नियमावली अनुसार संविधानसँग बाझिएका संशोधन स्वीकार हुन सक्दैनन्। यस्तै, विधेयकले लिएको मूल सिद्धान्त विपरीतका संशोधन पनि स्वीकार हुन सक्ने छैनन्। यस्तै, संशोधनका लागि नखोलिएको दफामा दर्ता भएका संशोधन स्वीकारयोग्य हुँदैनन्।
नियमावली अनुसार सभाद्वारा पूर्व स्वीकृत सिद्धान्त वा निर्णयको विपरीत रहेका संशोधन पनि स्वीकार हुँदैनन्। तोकिएको ढाँचा र स्पष्ट नभएका संशोधन पनि स्वीकार हुने छैनन्।