
काठमाडौँः नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभामा शनिबार दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित गरिएको हो।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधयेक निर्णयार्थ पेस भएको थियो।
प्रतिनिधिसभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो। हस्ताक्षरसहित मत विभाजन गरिएको हो।
जसमा विधेयकको पक्षमा २५८ मत परेको थियो। विपक्षमा कुनै पनि मत परेन। कूल २७५ संख्यामा अहिले चार सदस्य निलम्वनमा छन्।
विधेयक जेठ ९ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। जेठ १८ गते सदनमा पेस भएको थियो।
विधेयक पारितपछि अब राष्ट्रिय सभामा पेस हुनेछ। राष्ट्रिय सभामा पनि विधेयक पारितका प्रक्रिया प्रतिनिधि सभामा सरह हुनेछन्।
संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित, संशोधनको पक्षमा २५८ मत
Posted by PahiloPost on Saturday, June 13, 2020
विधेयकमा दर्ता भएको एकमात्र संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका थिए। प्रतिनिधि सभा नियमावलीले तोकेको शर्त पालना नभएको भन्दै प्रस्ताव अस्वीकृत भएको थियो।
विधेयक पारितअघि दफावार छलफलमा भाग लिँदै प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो, समाजवादी पार्टीका उपेन्द्र महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल लगायतले विधेयकको समर्थन गरेका थिए।