
वीरगंज : वीरगंजको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा अब ४ महिलासहित २७ जना संक्रमितहरुको उपचार भइरहेको छ। अस्पतालबाट शनिवार १२ जना र शुक्रवार ५ जना गरी दुई दिनमा १७ जनालाई डिस्चार्ज गरिएको छ भने शुक्रवार राति ५ जना संक्रमित थपिएका थिए।
शनिवार डिस्चार्ज हुनेमा ३ महिला र ९ पुरुष छन्। अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार शनिवार डिस्चार्ज हुनेमा रौतहटका २, बाराका ३ र पर्साका ७ जना रहेका छन्। १२ जनाको लगातारको दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको उनले बताए।
त्यसैगरी, हिजो गण्डक अस्पतालबाट पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको थियो। तीमध्ये चार जनाको परीक्षण गरिएको थिएन। एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
पोखरिया नगरपालिका वडा नम्बर ९ का २१, ३७, ३९ र ४२ वर्षका पुरुषलाई डिस्चार्ज गरिएको गण्डक कोभिड अस्पतालका संयोजक डा सिंहले बताए। जगरनाथपुरका ३७ वर्षीय पुरुषको लगातार दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।